नेपाल–भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ असोज ।

नेपाल–भारत सीमा नाका बन्द हुँदा यहाँको पर्यटन क्षेत्र धराशयी भएको छ । कोभिड सङ्क्रमण फैलन नदिनका लागि गरिएको सीमा नाका बन्द गरी पर्यटक आगमनलाई रोक लगाउँदा पर्यटन क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको हो ।

सीमा नाका बन्दले रुपन्देहीमा सञ्चालित ३०० बढी होटल तथा रेष्टुरेन्ट, १०० बढी ट्राभल एजेन्सी धराशयी बनेको पर्यटन व्यवसायी बताउँछन् । निजी क्षेत्रको करिब रु २५ अर्ब लगानी रहेको रुपन्देहीमा सरकारले सीमा नाका बन्द गरिदिँदा सङ्कटमा परेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीलाई दृष्टिगत गरी जिल्लामा ठूलादेखि साना होटल सञ्चालनमा आएका थिए । जसमा कार्यरत अधिकांश कर्मचारीसमेत बेरोजगार भएका छन् ।

सिद्धार्थ होटल एसोसिएसन रुपन्देहीका अध्यक्ष तथा हानका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले हचुवाका भरमा सीमा नाका बन्द गर्दा पर्यटन क्षेत्र टाट पल्टिएको गुनासो गर्नुभयो । कोभिडविरुद्धको खोप लगाएका र पिसिआर रिपोर्ट लिएर आउने पर्यटकका लागि सीमा खुल्ला गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्र बचाउनका लागि भारतीय पर्यटकको आगमनलाई सहज गर्न आग्रह गर्नुभयो ।

लग्जरी इन्टरनेसनलका व्यवस्थापक पवन गोयलले पर्यटन क्षेत्रलाई बचाइराख्ने हो भने सरकारले भारतीय पर्यटक आउने वातावरण सृजना गर्नुपर्ने सुझाव दिनुभयो । “देशमा पर्यटन क्षेत्र नराम्रोसँग पछारिएको छ”, उहाँले भन्नुभयो, “जसका कारण अर्बौँ लगानी डुब्नाका साथै हजाराँैले रोजगार गुमाएका छन् ।”

ट्राभल एसोसिएसनको साझा संस्था सोटो नेपाल लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा गुजराती समाज सार्क टुर एन्ड ट्राभलका सञ्चालक श्रीचन गुप्ताले तेस्रो देशका पर्यटक आउनमा सरकारले रोक लगाए पनि भारतीय र चीनबाट आउने पर्यटनलाई खोप लगाएका आधारमा आउन दिन सरकारसँग माग गर्नुभएको छ । नेपालको पर्यटन क्षेत्र आर्थिक सबलीकरणको महत्वपूर्ण व्यवसायी भएकाले यसलाई बचाउन सरकारले नयाँ सोचका साथ योजना तथा कार्यक्रम ल्याउनसमेत गुप्ताले आग्रह गर्नभयो ।

नेपालमा प्रायः पर्यटक हिमाल क्षेत्रमा टे«किङ गर्न र लुम्निबी घुम्नका लागि आउने गरेका छन् । योबाहेक नेपालको प्राकृतिक सुन्दरतामा रम्नका लागिसमेत पर्यटक आउने गरेको तथ्याङ्क देखिन्छ । धार्मिक आस्था राख्नेहरू लुम्बिनी, पशुपतिनाथ, चाँगुनारायण मन्दिर, स्वयम्भू, बौद्ध लगायतमा दर्शन गर्नका लागिसमेत पर्यटक आउने गरेका छन् । सरकारले पर्यटन क्षेत्रलाई अगाडि बढाउनका लागि संसारभर नेपालको सांस्कृतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा साहसिक र सुन्दरताको गन्तव्यका रुपमा परिचित बनाउन सक्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।

कोभिडपछि सरकारी नीतिमा देखिएको अपरिपक्वताले समेत पर्यटन क्षेत्र धराशयी बनेको हो । नेपालका ठूला होटलहरू बैंक ऋण तिर्न नसकेर, विद्युत् महसुल बुझाउन नसकेर र कर्मचारीलाई मासिक पारिश्रमिकसमेत दिन नसकेर आत्तिएका छन् । यस्तो अवस्थामा सरकारी तहबाट आउनुपर्ने सहयोग र योजनासमेत केही नहुँदा पर्यटन व्यवसायी हतोत्साही रहेको होटल एसोसिएसनले जनाएको छ ।

यातायात क्षेत्र पनि सङ्कटमा

कोभिडको महामारीपछि आएको सङ्कटले पर्यटन क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने यातायात क्षेत्रसमेत सङ्कटमा परेको छ । पैदलमार्गबाट नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया सीमा नाका रुपन्देहीमा पर्ने भएकाले पर्यटकलाई दृष्टिगत गरेर सञ्चालनमा रहेको यातायात क्षेत्र नाका बन्दले पर्यटक नआउँदा समस्यामा परेका हुन् । जिल्लामा संस्थागत र निजी क्षेत्रको सञ्चालन करिब तीन हजार ५०० को हाराहारीमा सार्वजनिक सवारी साधनहरू (बस, मिनीबस) चल्ने गर्दछन् । यसको अलवा ट्याक्सी र अटोरिक्सा दुई हजार ५०० को सङ्ख्यामा रहेको यातायात व्यवसायी बताउँछन् ।

सिद्धार्थ सार्वजनिक यातायातका अध्यक्ष सञ्जीव रोक्काले कोभिडको सबैभन्दा धेरै मार यातायात क्षेत्र परेको भन्दै राज्यले बस व्यवसायीका लागि बैंक ब्याज छुट तथा कर छुटको व्यवस्थासमेत नगर्दा उठ्न नसक्ने अवस्था आएको बताउनुभयो । उहाँले पर्यटकको आगमनसमेत अहिले रोकिएको अवस्थामा सवारी यातायातलाई उकालो लाग्न निकै समय कुर्नुपर्ने बताउनुभयो ।

देशमा सङ्कट पर्दाको अवस्था राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा त्यो अनुभूति व्यवसायीलाई नभएको सार्वजनिक सवारी सञ्चालक बताउँछन् । नेपालमा पछिल्लो चरण देखिएको कोभिड र त्यसपछिको बाढीबाट समेत यातायात क्षेत्र धरापमा परेको छ ।