साेमवारदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ, कसरी गर्ने बुकिङ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ असोज ।

सरकारले सोमवारदेखि दशैंका लागि सवारी साधनहरुको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरवारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सोमवरदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिएको बताउनुभएको हो ।

उहाँले कोरोना महामारीको जोखिम नघटेकोले अनलाइन प्रणालीबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउँदा सहज र उपयुक्त हुने बताउनुभयो । यात्रुको सहायताका लागि काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । दशैँको अवसरमा यात्रुहरुलाई सहजता प्रदान गर्न कुनैपनि सवारीसाधन चेकजाँचमा खुला गर्ने बताउँदै दशैँलक्षित राजमार्गहरु खुलाउने, सडक मर्मत गर्ने कार्यमा मन्त्रालय लागि परेको उहाँको भनाइ थियो ।

त्यस्तै समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अनलाइन र मोबाइलबाट टिकट बुकिङ गर्न उपभोक्ताहरुलाई अनुरोध गर्नुभयो । उहाँले मोबाइलबाटै अनलाइन टिकट काट्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

महानिर्देशक घिमिरेले कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र टिकट काट्न तथा घर जाँदा हुने भीडलाई मध्यनजर गर्दै काठमाडौंका विभिन्न स्थानबाट सवारी साधनहरु छुट्ने व्यवस्था मिलाइने बताउनुभयो । पश्चिम चल्ने यातायातका लागि नयाँ बसपार्क र पूर्वका सवारीसाधनहरुका लागि कोटेश्वर, चाबहिल, लगायतका स्थानहरुबाट प्रहरीको सक्रियतामा सवारीसाधन छुट्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो ।