आफ्नो राजनैतिक गुरु माधव नेपालको साथ छोड्नु भुल भयोः भीम रावल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ असोज ।

नेकपा एमालेका नेता भिम रावललाई जताततैबाट आलोचनाको सिकार भएका छन्। आजकाल उनि आफ्नो राजनैतिक गुरु माधव नेपालको साथ छोड्नु भुल भयो भन्ने सम्मको अवस्थामा पुगेका छन्।

नेकपा एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिम प्रदेशका तीन जना नेताले असार २७ गते गरिएको १० बुँदे सहमति कार्यान्वयनबारे शीर्ष नेतृत्वसँग प्रश्न उठाएका छन्।

एमाले उपाध्यक्ष भीम रावल तथा केन्द्रीय सदस्यहरु झपट रावल र भानुभक्त जोशीले १० बुँदे सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा नलगिएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्।

असोज १५ देखि १७ सम्म हुन लागेको विधान महाधिवेशनमा पेश गरिने विभिन्न प्रतिवेदनमाथि छलफलका लागि डाकिएको पहिलो दिनको बैठकमा तीन नेताले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे अनुसार पार्टीलाई पुरानै अवस्थामा नफर्काएको गुनासो गरेका हुन्।

बैठकमा १० बुँदेबारे प्रश्न उठाएका नेता जोशीले भदौ १३ गते जारी गरिएको अन्तर पार्टी निर्देशन अनुसार पार्टी मूलत: २०७५ जेठ २ मा फर्किएर सक्रिय हुनुपर्नेमा त्यस्तो नभएको गुनासो गरेका थिए।

‘पार्टीलाई सर्वोच्चको फैसला र हाम्रै १० बुँदे सहमति अनुसार जेठ २ मा लैजान केन्द्रीय कमिटीले अन्तर पार्टी निर्देशिका पनि जारी गरेको छ’, जोशीले नेपालखबरसँग भने, ‘भदौ १३ गते जारी गरेक अपानि अनुसार पार्टी संरचना मूलत: २०७५ जेठ २ अघिको अवस्थामा क्रियाशील हुनेछन् भनिएको थियो। तर हाम्रो प्रदेशमा त्यस्तो हुन सकेन।’
अपानिसँगै १० बुँदे सहमति पनि तलसम्म पठाइएको स्मरण गर्दै जोशीले तर त्यसको कार्यान्वयनमा नेतृत्वले अनिच्छा देखाएको बताएका छन्।

‘अपानिसँगै १० बुँदे सहमति पनि सँगै पठाइएको थियो। तर ससदूरपश्चिममा अपानिमा उल्लेखित कुरा र १० बुँदे सहमति पनि अझै कार्यान्वयन भएन,’ उनले थपे, ‘हामी तीनैजनाले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएर कुरा राखेका हौँ।’

ओलीले दिएनन् चासो

तर तीनजना नेताहरुले राखेको उक्त कुरालाई अध्यक्ष ओलीले खासै चासो नदिएको बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले बताएका छन्। ओलीले तीन नेताको कुरा सुने पनि पछि छलफल गरौँला भनेर टारिदिएका छन्।

‘अध्यक्ष कमरेडले हाम्रा कुरालाई खासै महत्वका साथ चासो दिनु भएन। ठीकै छ पछि हेरौँला भन्नुभयो,’ जोशीले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘उहाँले अब स्थायी कमिटी बैठक पनि बस्दैछ। त्यहाँ पनि बरु छलफल गर्न सकिन्छ।’

विकल्प खोज्ने

जोशीले यदि १० बुँदे अनुसार सुदूरपश्चिममा पार्टी जेठ २ को अवस्थामा नफर्किएमा विकल्प सोच्ने बताएका छन्।

‘हाम्रो प्रष्ट कुरा के हो भने १० बुँदे सहमति कार्यान्वयन भएन भने अपानि अनुसार पार्टी कमिटी अघि बढेन भने हामी विकल्प सोच्छौँ’, उनले भने, ‘पार्टीले निर्णय गर्ने तर कार्यान्वयन नगर्ने हो भने त्यो पार्टी हुँदैन।’

जोशीले ओलीले आफूहरुलाई अल्मल्याउने नीति लिएको पनि गुनासो गरेका छन्। ‘निर्णय हुने तर कार्यान्वयन नहुने अवस्थालाई हामी स्वीकार्न सक्दैनौँ’, जोशीले भने, ‘अध्यक्ष कमरेडले हामीलाई अल्मल्याउने, घुमाउने, भित्र हाल्ने अनि ठोकठाक गर्ने नीति लिनु भएको रहेछ। यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ। यो कुरालाई स्वीकारेर जान सकिँदैन।’