पार्टीले निर्णय गरे चितवनमा प्रचण्डसँग निर्वाचन लड्छु : बादल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ असोज ।

एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले पार्टीले निर्णय गरेमा आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रचण्डसँग आफू निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन्। तर, यसबारे पार्टीले निर्णय गरिनसकेको उनको भनाइ छ। यदि पार्टीले निर्णय गरेमा आगामी चुनावमा बादल भर्सेस प्रचण्ड हुने उनले बताए।

बादल पूर्वमाओवादीका नेता हुन्। बादल र प्रचण्ड दुवै चितवनबाट प्रतिनिधित्व गर्ने नेता हुन्। तर, साविक नेकपा खारेज भएपछि एमालेमै रहेका बादलले माओवादी युद्धका आफ्ना सुप्रिम कमान्डर प्रचण्डसँग निर्वाचन लड्ने घाेषणा गरेका हुन्।

एमाले बैठक: विधान महाधिवेशनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले) को आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन्। बैठकमा साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नुका साथै छलफल हुनेछ। अध्यक्ष ओलीले स्थायी कमिटीको सुझावसहित प्रतिवेदन ल्याइएको र विधान महाधिवेशनको व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताए।

उनले भने, “विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्नेछ। हाम्रा आन्तरिक र राष्ट्रिय राजनीतिका समस्या छन्। त्यसमा छलफल गर्नुपर्छ।

आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक छ।” बैठकमा पार्टीका केन्द्रीय निकायमा प्रतिवेदन प्रस्तुत गरिने बताइएको छ।