२ अर्ब ५३ करोड बिजुलीको बिल नतिर्ने लोडसेडिङ माफिया साहिल अग्रवाल विभुषित !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ असोज ।

सरकारले संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभुषण तथा मान पदवी दिएको छ । मान पदवी पाउनेहरुको सुचीमा विवादास्पद व्यावसायीक घराना समेत रहेको पाइएको छ ।

तर यो वर्ष विभूषण हुने सुचिमा सरकारले नामुद लोडसेडिङ माफियालाई समेत विभुषित गरेको छ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ आउनुअघि सर्वसाधरणलाई १८ घण्टासम्म अन्धकारमा राखेर केही माफिया तथा व्यावसायीलाई भने २४ घण्टा नै विद्युत सुविधा उपलब्ध गराइएको थियो ।

त्यसरी विद्युत उपभोग गर्ने व्यापारीले सरकारलाई डेडिकेटेड तथा ट्रंक लाइन सुविधा मार्फत अतिरिक्त शुल्क बुझाउने सम्झौतामा हस्ताक्षर गरेका थिए । तीनै व्यापारीहरु मध्येका प्रमुख घरानाका मालिक हुन्– साहिल अग्रवाल । अग्रवाल शंकर समुहको प्रबन्ध निर्देशक रहेका उनको कम्पनि जगदम्बा स्टिलले नेपाल विद्युत प्राधिकरणलाई २ अर्ब ५३ करोड १४ लाख ३२ हजार ८ सय ५८ रुपैयाँ बुझाउन बाँकी रहेको दियोपोस्टलाई प्राप्त कागजातमा उल्लेख छ ।

अर्बौं विद्युत महशुल नबुझाउने अग्रवाल नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध मिडियाबाजी गर्दै आएका छन् ।

उनै अग्रवाललाई वर्तमान सरकारले सुप्रवल जनसेवा श्री पुरस्कार पाउने सुचीमा राखेको छ ।

साहिलका भाई सुलभ अग्रवाल भने कोरोना महामारीको समयमा थर्मल गन कालोबजारी गरेको अभियोगमा पक्राउ परेका थिए । उनी शक्तिकेन्द्रको आडमा छुटेका थिए ।