एमाले विधान : ओलीलाई अध्यक्षभन्दा माथि राख्न सकिने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ असोज ।

नेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई भविष्यमा पार्टी अध्यक्षभन्दा माथिल्लो वरियतामा राख्न मिल्ने आशयको प्रावधान ल्याइएको छ । एमालेको प्रस्तावित विधानले पार्टीको निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने व्यवस्था गरेको छ ।

वरिष्ठ नेताको वरीयता अध्यक्षपछिको दोस्रो रहने भनिएकोमा निवर्तमान अध्यक्षलाई वर्तमान अध्यक्षभन्दा माथिल्लो वरियतामा समेत राख्न सकिने छिद्र खोलिएको छ ।

संशोधित विधानको धारा १५ को उपधारा ३ मा भनिएको छ,‘पार्टीका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुनेछन् ।’ तर, सोही उपधारामा अगाडि थपिएको छ, ‘महाधिवेशनले अन्यथा निर्धारण गरेकोमा बाहेक निजको मर्यादाक्रम अध्यक्षपछि रहनेछ ।

विधानको यो प्रावधानअनुसार भोलि महाधिवेशनमा ओलीबाहेक अरू कुनै नेता अध्यक्ष भएको खण्डमा वरिष्ठ नेता ओली दोस्रो वरियतामा नबसी अध्यक्षभन्दा माथिको पहिलो वरियतामा बस्न पनि सक्ने छन् र कार्यकारी अध्यक्ष चाहिँ दोस्रो वरियतामा बस्नुपर्ने हुन सक्छ तथापि यसलाई महाधिवेशनले पारित गर्नुपर्ने छ ।
नेकपा एमालेमा अहिले कोही पनि निवर्तमान अध्यक्षहरू छैनन् । पार्टीका पूर्वप्रमुख मध्ये सीपी मैनाली एमालेमा छैनन् । मनमोहन अधिकारीको मृत्यु भइसकेको छ । बाँकी रहेका झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी छाडिसकेका छन् ।

आगामी महाधिवेशनबाट कोही नयाँ अध्यक्ष बनेको खण्डमा केपी ओली एकमात्र निवर्तमान अध्यक्ष रहनेछन् । र, संशोधित विधानको धारा १५ पारित भयो भने वरिष्ठ नेतालाई पार्टी अध्यक्षभन्दा माथिल्लो वरियतामा राख्ने ढोका खुल्नेछ ।