एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक पारित गरिँदै ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ असोज ।

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । उनीहरूको नाराबाजी चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् ।

एमाले सांसदको नाराबाजीबीच नै विनियोजन विधेयक पारित गर्ने गरी बैठकलाई सभामुख सापकोटाले अघि बढाइरहेका छन् । नेमकिपा सांसद प्रेस सुवालले विनियोजन विधेयक २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गरेका छन् ।

सुवालले सो प्रस्ताव प्रस्तुत गरिरहँदा पनि एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ ।

एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै

विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। हिजोदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने एमालेले जनाएको छ ।

एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा हिजो भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेस भई छलफल सुरु भएको र बैठकमा छलफल जारी रहने जानकारी दिए ।

आइतबारको छलफलमा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा पुष्प कँडेलले भाग लिएका थिए । एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म ललितपुरको गोदावरीमा हुने तय भएको छ । एमालेको केन्द्रीय कमिटीको गत २५ साउनमा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो ।

विधानमा पार्टीको प्रमुख पदमा उमेर हद, कमिटीमा निर्वाचन प्रणाली, सङ्घीयता अनुकूलका व्यवस्थामा छलफल भइरहेको जनाइएको छ । प्रतिवेदनमा स्थायी कमिटीका प्राप्त सुझावका आधारमा यही ८ र ९ असोजमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जनाइएको छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशन आगामी १० देखि १२ मंसिरमा हुने तय गरिएको छ।

एमालेले राष्ट्रिय महाधिवेशन पूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको छ।