प्रचण्डपत्नी सीतालाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ असोज ।

राजनीतिक अभियन्ताका रूपमा माओवादी केन्द्रकी सीता दाहालले प्रसिद्ध प्रबल जनसेवाश्री मानवपदवी पाएकी छन् । संविधान दिवसकाे अवसरमा राष्ट्रपति विद्या भण्डारीबाट उनले तृतीय श्रेणीकाे मानपदवी प्राप्त गरेकी हुन् । स्वास्थ्य समस्याका कारण उनी राजनीतिमा सक्रिय छैनन् ।

लामो समयदखि सीता दाहाल पार्किन्सनजस्तो देखिने जटिल खालकाे रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् । गत पुसमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो । सीता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी हुन् । तेस्राे श्रेणीकाे मानपदवी ३९ जनाले पाएका छन् ।
राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्‍याउने विदेशी नागरिकलाई जनसेवाश्री मानपदवी प्रदान हुनसक्ने विभूषण नियामवली २०६५ मा उल्लेख छ ।

संविधान दिवसकाे अवसर पारेर राष्ट्रपति भण्डारीले विभिन्न क्षेत्रका ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी हुन् । २९ गतेको मन्त्रिपरिषद्ले यीनाम सिफारिस गरेकाे थियाे ।