अब एकल पुरुषले पनि भत्ता पाउने, सही की गलत ?

हाम्रो सन्देश संवाददाता

दैलेख, ३ असोज ।

एकल पुरुषले पनि भत्ता पाउने दैलेखको डुङ्गेश्वर गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरेर गाउँकार्यपालिकाले बजेट विनियोजन गरी एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको हो ।

गाउँपालिकाभित्र रहेका ५५ वर्षमाथिका एकल पुरुषलाई मासिक रु. ५०० का दरले भत्ता दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए । भत्ता ६÷६ महिनामा वितरण गरिने उनले बताए ।

त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए । तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको उनले बताए ।