गायिका विष्णु माझीको घरमा प्रहरी, घर पुग्दा यस्तो अवस्थामा (भिडियो सहित)

हाम्रो सन्देश संवाददाता

स्याङ्जा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइतीघर चापाकोट पुगेको छ । राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरी गायिका माझीकाे अवस्था बुझ्न आग्रह गरेको थियो ।

आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिनुभयो । स्याङ्जाको चापाकोटमा रहेको विष्णुको माइतीघरमा प्रहरीको टोली पुगेर सोधपुछ गर्दा उनी लामो समयदेखि माइतीघर नआएको पाइएको छ ।

प्रमुख बोगटीका अनुसार घरमा कोही पनि भेटिएनन् । विष्णुका बाबुआमाको निधन भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन् । आयोगलाई गायिका विष्णु माझीको माइतीको अवस्थाबारे मौखिक जानकारी गराइ सकिएको एसपी बोगटीले जानकारी दिनुभयो ।

तीज विशेष भन्दै माझीले गाएको ’चरी जेलैमा’गीतले पछिल्लो समय चर्चा मात्रै नभएर उनको निजी जीवन सार्वजनिक हुनुपर्ने बहस पनि चलिरहेको छ । धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क गरेका छन् । माझीले गाएको त्यस गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारीले शब्द रहेको छ ।

२ बर्ष अगाडि गायिका विष्णु माझी र उनका श्रीमान् सुन्दरमणी अधिकारी स्याङ्जा प्रशासनमा उपस्थित भएर आफ्नो भनाई राखेका थिए । सो समयमा गायिका माझीले आफू कुनै दबाबका कारण नभई रहरले नै सार्वजनिक रुपमा हिडडुल नगरेको बताएकी थिइन् ।

फेरि, गीतको चर्चासँगै गायिका माझीको बिषयमा सर्वत्र चासो व्यक्त गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा सुपरहिट गीत दिएकी गायिका माझी लामो समयदेखि सार्वजनिक रुपमा देखिएकी छैनन् ।

यसअघि पनि विष्णुबारे यस्तै चासो भएपछि स्याङ्जा प्रहरीले उनीहरूलाई बोलाएको थियो। २०७५ सालमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले यसरी जीवन बिताइरहेको बताएकी थिइन् ।