कोरोनाविरुद्धको खोप लगाएका महिलामा महिनावारी गडबडी

हाम्रो सन्देश संवाददाता

लन्डन ।

विश्वमै सबैभन्दा पहिला कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा यसका साइड इफेक्टबारे अध्ययन हुने क्रम जारी छ । तर खोप लगाएका महिलाको महिनावारी गडबडी भएको दाबी गरेका छन् ।

त्यहाँका ३५ हजार बेलायती महिलाले कोरोनाविरुद्धको खोप लिएपछि उनीहरुको महिनावारी रोकिएको बताएका छन् । साथै कतिपय महिलामा अत्यन्त दुखाई र अनियमित महिनावारी भएको पनि देखिएको छ ।

विशेष गरी मोडर्ना र फाइजर खोप लगाएका महिलामा महिनावारीमा गडबडी देखिएको दाबी गरे पनि इम्पेरियल कलेज लन्डनमा प्रजनन प्रतिरक्षा पढाउने प्रोफेसर डा. भिक्टोरिया मालेले गरेको एक तथ्यांक विश्लेषणको रिपोर्टअनुसार खोपको कारण महिलाको प्रजननमा समस्या आएको बारे थप अध्ययन आवश्यक रहेको बताएकी छन् ।

डाक्टर मालेले खोपका कारण शरीरको प्रतिरक्षा प्रतिक्रियाले महिनावारीमा समस्या सिर्जना गर्न सक्ने सम्भावना रहेको स्वीकार्छिन् । एचपिभी खोपले सुरुको महिनामा रजस्वला रोकिएको अध्ययनबाट पुष्टि भएको थियो । यस कारण पनि खोपले प्रजनन प्रतिरक्षामा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

डा माले प्राइमेरी केयर चिकित्सक एवं रिप्रोडक्टिभ हेल्थमा काम गर्ने व्यक्तिहरुले खोप लगाएपछि महिनावारीमा समस्या देखिएका महिलालाई सम्पर्क गरिरहेको बताएकी छन् । जसमध्ये ३० हजार बढी महिलाले खोप लगाएपछि महिनावारीमा समस्या आएको रिपोर्ट गरेका छन् । ती महिलाहरुले पछिल्ला महिनादेखि पुनः नियमित महिनावारी भएको पनि प्रतिक्रिया दिएका छन् ।