एमाले अध्यक्ष ओलीले अब समाजसेवा गर्ने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३१ भदौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताले दुःख पाएको आफूले टुलुटुलु हेरेर बस्न नसक्ने भएकाले समाजसेवा केन्द्र खोल्न लागेको बताउनुभएको छ ।

रुपन्देहीको बृहत् कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ओलीले आफू र आफ्नो दल सरकारमा रहे पनि वा बाहिर जहाँ भए पनि सँधै जनहितमा लागिरहने उल्लेख गर्नुभएको छ ।

तर त्यस विपरीत वर्तमान सरकार र उसको गठबन्धनले जनताको आशा र भरोसा तोड्ने काम गरेको आरोप उहाँले लगाउनुभएको छ । अहिलेको सरकार भूमि आयोग विघटन गरेर होस् या पूर्वाधारको बजेट कटाएर भए पनि जनताको खुशी छिनाल्न प्रयासरत रहेको ओलीले उल्लेख गर्नुभयो ।

आफूले भत्केको धरहरा र रानीपोखरीको पुनर्निर्माण गरेको तर अहिलेको सरकारले नभत्किएको घण्टाघर भत्काउने तयारी गरेको आरोप लगाउनुभयो ।

उहाँको ठहर छ, ‘हेर्दै जानुहोला घण्टाघर भत्काए भने त्यो बनाउन फेरि एमालेकै सरकार आउनुपर्छ । यिनीहरुले भत्काउलान् तर बनाउँदैनन् ।