प्रदेश नं १ को मन्त्रिपरिषद् विस्तार : ५ जना मन्त्री थपिए

हाम्रो सन्देश संवाददाता

विराटनगर, ३० भदौं ।

प्रदेश नं १ को सरकारको मन्त्रिमण्डल बुधवार विस्तार गरिएको छ ।

विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई जना मन्त्री र तीन जना राज्यमन्त्री थप गरिएको छ । नवनियुक्त मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा हिराकुमार थापा छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्ति गरिएको छ ।

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले बुधवार साँझ मुख्यमन्त्री भीमप्रसाद आचार्यको सिफारिसमा नियुक्त मन्त्री न्यौपाने र थापालाई पद तथा गोपनीयताको शपथ गराए ।

प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार शपथ गराएका हुन् ।

यसैगरी मुख्यमन्त्री आचार्यले राज्यमन्त्री बस्नेत, राजवंशी र अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराए । समारोहमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव, उच्चपदस्थ कर्मचार तथा सुरक्षा अधिकारीको सहभागिता रहेको थियो । रासस