एमालेको प्रश्न- संसद बैठक ४ असोजलाई किन सारियो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० भदौं ।

नेकपा (एमाले)ले सरकारले प्रतिस्थापन विधेयकले पहिले ल्याएको बजेटमा केही योजना कटौती गरेकामा आपत्ति जनाएको छ।

पार्टीका महासचिव ईश्वर पोखरेलले आज विज्ञप्ति जारी गर्दै आफ्नो सरकारको पालामा ल्याइएका एक हजार ४०० भन्दा बढी विकास आयोजना कटौति गरेकामा आपत्ति जनाएका हुन्।

एमालेले बजेट जस्तो संवेदनशील विषयमा सरकारको उदासीनता र गैरजिम्मेवार रवैया देखिएको भन्दै त्यसप्रति खेद व्यक्त समेत गरेको छ।

‘सन्तुलित विकासको अवधारणाअनुरूप प्रतिनिधिसभाका सदस्यहरूको आग्रहमा अघि बढाएको निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक र पालिका जोड्ने पहुँच मार्गलगायतका एक हजार ४०० भन्दा बढी विकास आयोजना कटौती गर्न पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अनिवार्य दायित्वभित्र पर्ने वित्त व्यवस्थापनको बजेट कटौती गर्ने गैरजिम्मेवापूर्ण काम गरेको छ।’

एमालेले आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै आजको वित्तीय संकटको परिस्थिति सिर्जना हुन पुगेको पनि उल्लेख गरेको छ।

विज्ञप्तिमा लामो तयारीपछि ल्याइएको प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको भन्दै विज्ञप्तिमा त्यसले विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको उल्लेख गरिएको छ।