सत्तापक्षलाई ‘विप्लवको प्रश्न–अमेरिकाको ५० करोड डलरले नेपालको कायापलट हुन्छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ भदौं ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको राष्ट्रिय स्वतन्त्रतामा आँच आउने एमसीसी सम्झौता कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।

सोमबार एमसीसीविरुद्घ अयोजित विरोध सभालाई सम्बोधन गर्दै विप्लवले उक्त सम्झौता नेपालको राष्ट्रिय हित विरुद्घ र अमेरिकाको सुरक्षाका पक्षमा भएको दाबी गरेका हुन् ।

त्यसैगरी आज आयोजित कार्यक्रम एमसीसी विरुद्घको एउटा झिल्को मात्र भएको विप्लवले बताएका छन् । जर्बजस्त कमिसनको लोभमा एमसीसी थोपर्न खोजिए आगो बल्ने पनि विप्लवले चेतावनी दिएका छन् ।

‘अहिले एमसीसीविरुद्धको यो आन्दोलन झिल्को मात्रै हो, एमसीसी जर्बजस्त दलालहरूको कमिसनको लोभमा थोपर्न खोजियो भने राँको बन्छ राँको,’ विप्लवले भने ।

त्यसैगरी एमसीसी विरुद्घ संयुक्तरुपमा आन्दोलन गर्न कतिपय पार्टीले अस्वीकार गरेको विप्लवको आरोप छ । ‘पार्टीपाटीमात्रै होइन, एमसीसीविरुद्घ लडौ भनेर भन्दा कतिपयले पार्टीमा गारो हुन्छ भन्नुभयो । तर अब मेचीदेखि कालीसम्मका सबै जनता एक ढिक्का हुनेछन् । कुनैपनि मुल्यमा एमसीसी थोपर्न दिनेछैनौ’, विप्लवले भने ।

अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि नेपालमा एमसीसी लागु गर्ने र कानुनी ढंगले अमेरिका नै माथि हुने, सुरक्षा पनि उसैले गर्ने त्यस्तो प्रावधान राखिएको विप्लवको दाबी छ । त्यसैगरी ‘अमेरिकाले दिएको ५० करोड डलरले के नेपालको कायापलट हुन्छ ?’ भन्दै विप्लवले सत्तारुढ दलहरुसँग प्रश्न गरेका छन् ।