एमालेले संसद्‍मा प्रयोग गरेका शब्दले सभ्यताको सीमा नाघ्योः माधब नेपाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ भदाै ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधिसभा अवरुद्ध गर्ने क्रममा लगाएका नारामा प्रयोग भएका शब्दप्रति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आपत्ति जनाएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार आह्वान गरेको सर्वदलीय बैठकमा नेपालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसद् नै नचाहेको भन्दै आलोचना गरेका थिए ।

प्रमुख प्रतिपक्षले प्रयोग गरेका शब्दहरूले उहाँहरूले सभ्यताका सीमा नाघेको देखिएको छ । प्रमुख प्रतिपक्षी दलका नेता अरुको मानमर्दन गर्न बाहेक उहाँसँग लोकतान्त्रिक चरित्र र संस्कार छैन । यस्तो प्रतिपक्ष हुनु हाम्रा लागि दुः खद हो, बैठकमा नेता नेपालले भनेको कुरा एक सांसदले उल्लेख गरे ।

ओली नेतृत्वको प्रतिपक्ष जिम्मेवार भएर प्रस्तुत नभएको नेपालको भनाइ थियो । प्रतिपक्षी दलका नेताले संसद् र सभामुखप्रति पूर्वाग्रह राखेको पनि उनले बताएका थिए ।

सर्वोच्च अदालतले आफूहरूलाई ह्वीप नलाग्ने भनिसकेको उल्लेख गर्दै नेपालले थपेका थिए, संसद् पनि रोकिनु हुँदैन र सभामुखले संवादको कोसिस पनि जारी राख्नुपर्छ । आफ्नो कामबाट प्रतिनिधिसभा पछि हट्न सक्दैन ।