एमाले विवाद : ओलीले फोन अफ गरेर बसेपछि…

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ भदाै ।

नेकपा (एमाले)को निरन्तर अवरोध पछि संसद बैठक सञ्चालन हुन नसकेसँगै सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक डाकेर समाधान खोज्ने प्रयास गरे । तर, संसद बैठकमा विभिन्न माग राख्दै अवरोध गर्दै आएको एमालेबाटै सर्वदलीय बैठक भने बहिस्कार भयो । जसको कारण सोमबारको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ ।

सर्वदलीय बैठकमा एमाले अनुपस्थिति भएसँगै दलहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भए/नभएको बारे सभामुखलाई जिज्ञासा राखेका थिए । सभामुखले बैठकलाई गराएको ब्रिफिङ्गअनुसार सभामुखको फोन गएसँगै ओलीले फोन नै अफ गरिदिएपछि सभामुख र ओलीबीच सम्पर्क हुन सकेनछ ।

‘उहाँले ओलीसँग सम्पर्क गर्नको निम्ति घण्टौं प्रयास गर्नुभएछ तर, फोन नै अफ गरेपछि सम्पर्क हुन सकेनछ’, सापकोटाले गरेको ब्रिफिङ्गबारे जानकारी दिँदै राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले भनेकी छिन्, ‘ओलीसँग सम्पर्क हुन नसकेपछि अन्यबाट उहाँले आउन नसक्ने जानकारी पाउनुभएछ ।’

पौडेलले जनाएअनुुसार पूर्वसभामुखसमेत रहेका नेता सुवास नेम्वाङले बैठकमा उपस्थित हुन नसक्ने जानकारी सभामुख सापकोटालाई गराएका थिए ।

बुधबारदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गका बैठकहरु एमालेको अवरोधका कारण स्थगित हुँदै आएको छ । एमालेको अवरोधकै बीच शुक्रबार सरकारले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गरेको थियो ।

तर, आइतबार बसेको बैठक निरन्तर अवरोधका कारण स्थगित भएको थियो । सभामुखले मंगलबारका लागि संसद बैठक बोलाएका छन् । मंगलबारको बैठकलाई सूचारु गराउन उनले सर्वदलीय बैठक बोलाएका हुन् । तर, एमाले नै अनुपस्थित भएसँगै मंगलबारको बैठक पनि अनिश्चित बनेको छ ।