दोलखा केन्द्रबिन्दु भएर भूकम्प, रामेछापसहितका जिल्लामा पनि धक्का महसुस

हाम्रो सन्देश संवाददाता

दोलखा, २७ भदौ ।

आज साँझ भूकम्प गएको छ । दोलखाको नाम्दु केन्द्रबिन्दु भएर साँझ भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ८ बजेर ४१ मिनेट जाँदा दोलखाको नाम्दु केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का रामेछापलगायत जिल्लामा पनि महशुस भएको थियो । सो भूकम्प ०७२ सालको भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतीको बिवरण भने आइसकेको छैन ।

वैशाख यताका घटना र मानवीय क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता कूल एक हजार ७६२ विपद्का घटना भएको छ । ती घटनाबाट २३४ जनाको मृत्यु भएको छ । यसमा बाढीपहिरो र डुबान बाहेकका विपद्जन्य घटनासमेत समावेश छ । तीन घटनामा ४१ जना हराइरहेका छन् भने ४६४ घाइते भए । कूल दुई हजार २७८ परिवार प्रभावित छन् । कूल सात अर्ब ७७ करोडको क्षति भएको अनुमान गरिएको छ ।

जसमा सबैभन्दा बढी ६७९ आगलागीका घटना भए । यद्यपि मानवीय क्षतिका हिसाबले भने सबैभन्दा बढी पहिराबाट ७७ ले ज्यान गुमाएका छन् । सबैभन्दा बढी बाढीमा परेर ३२ बेपत्ता भएका छन् ।

प्राप्त विवरणअनुसार आगलागीमा परी १४, पहिरामा ७७, बाढीबाट ३८, अविरल वर्षाका कारण १६, चट्याङबाट ४८, सर्पको टोकाइबाट १६, डढेलोबाट तीन, हावाहुरीका कारण एक र जनावरको आ’क्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् ।