एमाले विभाजनमा सभामुखको मर्यादाहीन संलग्नता देखियो, संसद् अवरोध जारी रहन्छ: ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ भाद्र ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको संसद बैठक पनि अवरोध गर्ने भएको छ। आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिका षडयन्त्र रुपमा एमाले विभाजनमा देखिएको बताए।

उनले सभामुखको भूमिकाकै कारण बैठक अवरोध गरेको र अब पनि अवरोध जारी रहने बताए। उनले सरकारले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दा पनि सभामुखको भूमिका निष्पक्ष नदेखिएको बताए। उनले भने, ‘बजेट प्रस्तुत गर्न दिने मन थियो। तर सभामुखको भूमिकाले विरोध गरेयौँ। मन्त्री आफ्नो आसनमा बसेनन्। लुकेर बसे, कुदी कुदी प्रतिस्थापन विधेयक प्रस्तुत गरे।

मर्यादामा बस्न सांसदहरुलाई निर्देशन

अध्यक्ष ओलीले संसदमा अवरोध गर्दा सीमामा बस्नुपर्ने बताए। उनले कतिपय सांसदले सभामुखलाई माइकलाई हान्ने कुरा सञ्चार माध्यममा बोलेको भन्दै त्यस्तो नबोल्न निर्देश दिए। उनले एमालेले मर्यादा उल्लंघन नगर्ने बताए।

उनले संसदीय मर्यादाभन्दा बाहिर जान नसकिने उल्लेख गर्दै वेल घेराउ र नाराबाजी गर्न सकिने तर मर्यादा पालकलाई नाघेर जान नमिल्ने बताए।

गत शुक्रबारको बैठकमा एमाले सांसद रेखा झाले सभामुख अग्नि सापकोटालाई आफूले माइकले हान्ने प्रयास गरेको स्वीकार गरेकी थिइन्। सांसद आशा बिक र गंगा चौधरीलाई एमाले सांसदहरुले उचारले रोष्टममा पुर्‍याउन खोजेका थिए।