एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ भाद्र ।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमार विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीहरुसँग भेटघाटमा व्यस्त रहेका बेला एमसीसीविरुद्धको विरोध चर्किँदै गएको छ।

शनिबार दिउँसो पनि युवाहरुले राजधानीको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीविरुद्ध प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ। प्रहरीले युवाहरुमाथि लाठी बर्साएको छ। प्रदर्शनमा सहभागी केही युवाहरुलाई प्रहरी नियन्त्रणमा समेत लिएको छ।

प्रदर्शनमा ज्ञानेन्द्र शाही लगायत हन्ड्रेड ग्रुपमा आवद्ध युवाहरु सहभागी थिए। पछिल्लो समय एमसीसीविरुद्ध प्रदर्शन बढ्दै गएको छ।

अमेरिकाले एमसीसी सुरक्षा नीतिसँग नजोडिएको लिखित दिनुपर्छ : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालका लागि ठिक छ भन्ने पुष्टि भएपछि मात्रै पारित गर्ने बताएका छन् ।

बाँकेको नेपालगञ्जमा शनिबार पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले अमेरिकाले एमसीसी परियोजनासँग सुरक्षा रणनीति नजेडिएको लिखित दिनुपर्ने बताए । “सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो हुँदैन । हामीलाई लिखित चाहियो कि यो सुरक्षासँग सम्बन्धित छैन,” नेपालले भने ।

यो आयोजना विकासका लागि मात्र भएको लिखित नोट आएपछि मात्रै आफूहरुले समर्थन जनाउने बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण एमालेले सरकारको नेतृत्व गुमाउनु परेको बताए । नेपालले ओलीकै कारण आफूहरुले नयाँ पार्टी बनाउनु परेको बताए ।