काठमाडौं, २६ भाद्र ।
संखुवासभामा भएको सामूहिक हत्यामा परिवारकै आफन्तको संलग्नता रहेको पुष्टि भएको छ । तेज बहादुरका भतिज पर्ने २६ वर्षिय लोक बहादुर कार्कीले सामान्य रिसिईबीलाई लिएर पुरै परिवारको हत्या गरेको बयान दिएका छन । प्रहरीका अनुसार कार्कीले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको तर, घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन् ।
सोमबार बिहान खेत गोड्न आउँछु भनेका लोकबहादुर नआउने भएपछि तेज बहादुरल लोक बहादुरलाई हप्काएर अरु खेताला खोज्न निस्किएका थिए । घरमै आएर हप्काएर गएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेको खुलेको छ । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दोडिँदै जाँदा घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हिर्काएर हत्या गरे ।
आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन र पाँच वर्षीया गोमाले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई पनि लखेटेर घरदेखि माथिको खरबारीमा हत्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । मृतक सबैको टाउकोमा चोट लागेको छ ।
लोकबहादुरको साथबाट घरदेखि रगत लागेको कपडा र हथौडा जस्तो हतियार बरामद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनी दीर्घ रोगी रहेको खुलेको छ । प्रहरीले उनीमाथि तीन दिनदेखि सोधपुछसँगै निगरानी गर्दै आएको थियो ।