कोरोना महामारीका कारण रोकिएको पशुपति मन्दिर खुल्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ भदौ ।

कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको पशुपतिनाथको मन्दिर आजबाट खोलिएको छ ।

पशुपतिनाथाको मूल मन्दिर साढे ४ महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।

कोरोना महामारीको दोस्रो लहर देखिएपछि गत वैशाख १० गतेबाट पशुपतिनाथ मूल मन्दिर बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराउन थालिएको छ ।

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ ।