देउवाले उपाध्यक्ष सुमारलाई भने, एमसिसी अघि बढ्छ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति कायम गरेर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदानसम्बन्धी सम्झौतालार्ई अगाडि बढाउने बताउनुभएको छ ।

शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुुवाटार पुग्नुभएकी एमसीसीका उपाध्यक्ष फातिमा जेड सुमारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले एमसीसी कार्यान्वयनका लागि राजनीतिक सहमति आवश्यक रहेकाले सोहीअनुसार सरकार अगाडि बढ्ने बताउनुभएको हो ।

प्रधानमन्त्रीले राजनीतिक सहमतिलाई जोड दिनुभएको कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । भेट सकारात्मक रहेको जनाउँदै प्रधानमन्त्री देउवाले ट्विटरमार्फत नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा विविध साझेदारीका बारेमा छलफल भएको जनाउनुभएको छ ।
साथै सो भेटमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुनसक्ने सहयोगलगायतका विषयमा पनि गहन छलफल भएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाल सरकार र एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी सम्झौताअगाडि बढाउन आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको जानकारी गराउनुभएको थियो ।

एमसीसी उपाध्यक्ष सुमारले एमसीसी सम्झौता नेपालको संसद्बाट छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै यसले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु-याउने दाबी गर्नुभएको अर्थ मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

सो भेटवार्तामा एमसीसीका सहअध्यक्ष जोनाथन बु्रक्स, नेपालस्थित अमेरिकी राजदूत -याण्डी बेरीलगायत एमसीसीका उच्च अधिकारी सहभागी रहनुभएको थियो ।यो समाचार गोरखापत्रमा प्रकाशित छ ।