ओलीसँग भेट्दा उपरखुट्टी लगाएर बसेकी फातिमा प्रचण्डसँगको भेटमा सालिन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ भदौ ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनकी उपाध्यक्ष फातिमा सुमार बिहीबार नेपाल आएलगत्तै पहिलो भेट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् ।

बालकोटमा ओली र सुमारसहितको टोलीको छलफल चल्दै गरेको तस्बिर निकै भाइरल बनेको थियो । तस्बिरमा उपाध्यक्ष सुमारले ओलीको अगाडि सालिनता नदेखाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

सुमारको बस्ने तरिका र भेषभुषाको बारेमा विभिन्न टिकाटिप्पणी भएका थिए । उनले ओलीसँगको छलफलमा उपरखुट्टी लगाएर बसेको र कालो मास्क लगाएर ओलीको अपमान गरेको तथा मर्यादा उल्लंघन गरिएको टिप्पणीहरु आएका थिए ।

शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने फातिमाले सालिन रुपमा प्रस्तुत भएकी छन् । एमसीसीका बिषयमा भने जबरजस्ती नगर्न प्रचण्डले फातिमालाइ आग्रह गरेका छन् ।

सिंगो देश र जनता नै एमसीसीको विरुद्धमा रहेका कारण सत्तारुढ गठबन्धनमा छलफल गर्ने र विचार गरेर निर्णय गरिने उनले बताए । साथै एसमसीसी यथास्थितिमा पारित हुन नसक्ने पनि प्रचण्डले संकेत गरेका छन् ।

भेटमा अध्यक्षले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताए । उनले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताए ।

जवाफमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताइन् । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउनुहुँदै सकारात्मक निर्णय हुनेमा आफु आशावादी रहेको उनको धारणा थियो ।