काठमाडौँ महानगरपालिकाको कार्यालयमा तोडफोड, मेयर शाक्यको निर्देशनमा मुचुल्का उठाइयो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ भदौं ।

काठमाडौँ महानगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । बागदरबारस्थित महानगरपालिकाका कार्यालयको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो ।

वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति असन्तुष्टि व्यक्त गर्दै तोडफोड गरेका हुन् । वडाध्यक्ष डंगोलले अधिकारीहरुको कार्यकक्षको ढोकामा लत्ताले हानेका हुन् । डंगोलले दुई वर्षदेखि इञ्जिनियर माग गर्दै आएकोमा दुई महिनाअघि मात्र एक जना इन्जिनियर पठाएको तर उनलाई पनि अन्यत्रै सरुवा गराएकोप्रति बुझ्न जाँदा कोही पनि जिम्मेवार ढंगले प्रस्तुत नभएकाले घटना भएको डंगोलको आरोप छ ।

इन्जिनियर नहुँदा विकास निर्माणको काम राम्रोसँग गर्न नपाएको र वडाबासीमाथि अन्याय भएको वडाध्यक्ष डंगोलको भनाई छ ।

डंगोलले तोडफोड गरेपछि मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा घटनास्थलको मुचुल्का उठाइएको छ । तोडफोडबाट भएको क्षति वडाध्यक्ष डंगोलबाटै भराउने मेयर शाक्यको तयारी छ ।