अध्यक्ष ओली पछि फातिमा र माधव नेपालबीच सिंहदरबारमा भेटघाट जारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ भदौं ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवन नं. १ को अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापतिको कार्यकक्षमा अध्यक्ष नेपाल र उपाध्यक्ष फातिमाको ११ सदस्यीय टोलीबीच भेटवार्ता भएको हो । साँझ साढे ५ बजेदेखि भेटघाट जारी रहेको बताइएको छ । अमेरिकी टोली ६ र नेपाली टोली ५ सदस्यीय रहेको छ ।

भेटवार्तामा अध्यक्ष नेपालसँगै एकीकृत समाजवादीका नेता प्रमेश हमाल पनि सहभागी छन् भने एमसीसीको टोलीमा उपाध्यक्ष फातिमासँगै सहअध्यक्ष जोनाथन ब्रुक्स रहेका छन् ।

नेपालमा एमसीसी सम्झौतालाई लिएर चर्को विरोध भैरहेका बेला नेपाल भ्रमणमा रहेको एमसीसी टोलीले आजै प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी ओलीसंग पनि भेटवार्ता गरेको थियो ।

आज बिहान काठमाडौँ आइपुगेको फातिमासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा,उर्जामन्त्री पम्फा भुसाल लगायतलाई पनि भेट गर्ने कार्यक्रम छ ।

एमसीसी टोलीको पहिलो भेट एमाले अध्यक्ष ओलीसँग

काठमाडौं आइपुगेको एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथनलगायतको टोलीले पहिलो राजनीतिक भेट प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएको छ ।

नेता ओलीलाई भेट्न उपाध्यक्ष सुमार भक्तपुर बालकोटस्थित निवासमा दिउँसो पुग्ने बताइएको छ । ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।

भोलि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भटटराई लगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री सँगको भेट भोली ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ । सम्झौता अनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।