२९ विधामा आठौं छायाछवि तीज म्युजिक अवार्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ भदौं ।

विभिन्न २९ विधाका उत्कृष्ट स्रष्टालाई प्रदान गर्दै आठौं छायाछवि तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । नजिकिँदै गएको तीजको अवसर पारेर सोमबार यो अवार्ड प्रदान गरिएको हो ।

यो अवार्डमा तीज गीत मिक्सिङ अवार्ड मनोज परियारले पातली–३ गीतबाट, तीज गीत एरेन्जरको अवार्ड राकेश सोनीले ‘घिन घिन मादल’ गीतबाट, तीज मौलिक गीत नव गायिकाको अवार्ड सकुना श्रेष्ठले ‘माइतीको आँगन’ गीतबाट, तीज गीत नव गायिकाको अवार्ड शिलाश्मा हमालले ‘झिलिमाई’ गीतबाट हासिल गरे ।

यस्तै, इन्करेजमेन्ट अवार्ड शारदा धितालले ‘सिंगापुरे साडी’बाट, तीज गीत मोडल पुरुषको अवार्ड दीपेन्द्र तिमिल्सिनाले ‘पारी वन हरियो’बाट, तीज गीत मोडल महिलाको अवार्ड टीका जैशीले ‘डालीमा पुतली भुरुभुरु’ गीतबाट, तीज गीत भिडियो छायाकारको अवार्ड मुकेश हुमागाईले ‘आँखा गयो नयाँ चिजैमा’ गीतबाट प्राप्त गरे । यस्तै, तीज मौलिक गीत भिडियो सम्पादकको अवार्ड विनोद वनले ‘आँखा गयो नयाँ चिजै’मा गीतबाट, तीज दोहोरी गीत भिडियो सम्पादकको अवार्ड राजकुमार मगरले ‘हङकङको साडी–२’ बाट, तीज गीत नृत्य निर्देशकको अवार्ड केशवराज भट्ट ‘झिलिमाई’ गीतबाट हासिल गरे ।

यस्तै, तीज गीत भिडियो निर्देशकको अवार्ड सुरेन्द्र वसेलले ‘यसपालिको तीजमा’ गीतबाट तीज दोहोरी गीत भिडियो निर्देशकको अवार्ड सुमन सागरजंग केसीले ‘जम्का भेटबाट’, तीज गीत भिडियो निर्देशक (मोफसल)को अवार्ड होम गुरुङले ‘मुग्लिन’ गीतबाट प्राप्त गरेका छन् ।

यस्तै, यसपटक तीज गीत शब्दको अवार्ड ज्योति गुरुङले ‘परदेशको छोरी’ गीतबाट हासिल गरे भने सन्देशमूलक गीत गायिकाको अवार्ड शुष्मा शाही ठकुरीले ‘सानी’ गीतबाट, तीज मौलिक गीत लयको अवार्ड एचवी सुनारले ‘माइतीको आगन गीतबाट, तीज दोहोरी गीत लयको अवार्ड रमेश परियारले ‘माइती देशै’को गीतबाट, दोहोरी तीज गीत गायिकाको अवार्ड चिजा तामाङले ‘ताराजून’ गीतबाट जिते ।
सो समारोहमा दोहोरी तीज गीत गायकको अवार्ड भुवन प्यासीले मखमली गीतबाट, दोहोरी तीज गीत गायक (पब्लिक च्वाइस)को अवार्ड सम्राट चौलागाईंले सम्झिने पानी छम्कने गीतबाट, उत्कृष्ट तीज गीत अवार्ड दिया नेपालले पिलासे चोलीबाट हासिल गरे ।

यस वर्ष ऋतु कँडेलको अलि अलि लजाउँदै गीतले उत्कृष्ट तीज गीतको अवार्ड पाएको छ । यस्तै उत्कृष्ट तीज गीत गायिकाको अवार्ड ‘गर्छु माया गर्छु’बाट रोशनी रसाइलीले, मौलिक तीज गीतको अवार्ड स्वामीको प्यारी गीतबाट सुनिता दुलालले र तीज मौलिक गीत गायिका कल्पना काफ्ले कम्मरै ढलमलबाट पाए ।
उत्कृष्ट तीज गीत कम्पनीको अवार्ड शिव दर्शन फिल्मसबाट गायत्री थापाले, युगल तीज गीत गायनको अवार्ड सोमा खत्री÷शोभा क्षत्रीले, जुरी अवार्ड आमाको वेदना गीतबाट सुशील ज्ञावालीले हासिल गरे ।

विगत आठ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको छायाछवि तीज म्युजिक अवार्ड तीज संस्कृतिको प्रवद्र्धनको लागि आयोजना गर्दै आएको छायाछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए ।

प्रथम अभिनेत्री भुवन चन्दलगायतले अवार्डको बारे कार्यक्रममा चर्चा गरे । अवार्डपछि तीजको दर खाँदै कलाकारले रमाइलो गरेका थिए ।