ईपीएसका श्रमिक पठाउने तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ भदौं ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ ।

भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १० हजार युवालाई कोरिया पठाउने सम्बन्धमा दुई देशका प्रतिनिधित्व छलफल भएको हो ।

कोरोना संक्रमणको दर दुवै देशमा कम भएपछि जनस्वास्थ्यका मापदण्ड पूरा गरेर लैजाने सम्बन्धमा नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकबीच छलफल भएको हो ।

पछिल्लो समय दक्षिण कोरियाले विभिन्न सर्तसहित नेपाली श्रमिकले लिन सहमत भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताउनुभयो । नेपालबाट कोरिया सिधा उडान हुनुपर्ने, क्वरेण्टीनमा बस्नु पर्ने र रोजगारीका लागि जाने श्रमिकका लागि बिमा हुनु पर्ने लगायतका सर्त कोरियाले राखेको छ । जसअनुसार कोरोना बीमाका लागि आह्वान गरिएको महानिर्देशक दवाडीले बताउनुभयो ।

‘श्रमिक पठाउनका लागि हामी तयारी अवस्थामा बस्नेछौँ, कोरियाले पठाउ भनेपछि हामी पठाउनेछौँ,’ महानिर्देशक दवाडीले भन्नुभयो,‘उसको कति डिमाण्ड पठाउँछ, त्यस अनुसार नै श्रमिक पठाउने हो ।’

यदि नेपालबाट गएका श्रमिकलाई कोरियामा १४ दिन भित्रमा कोरोना देखिएका उपचार खर्च कोरोना बिमाले समेट्ने छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।