सभापति देउवाको झेल: छोरा जयवीर देउवासहित ३१२ जनाको नामावली डडेलधुरामा थपिदिए

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ भदौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेतृत्वको दाबीमा रहेका नेता शेखर कोइरालाले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राखे–नेपाली कांग्रेस डडेलधुराको क्रियाशील सदस्यता सम्बन्धमा :

नेपाली कांग्रेस डडेलधुराबाट वडादेखि जिल्लासम्म कुनै विवाद नभई केन्द्रमा पठाईएका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाई जिल्लाका कुनै निकायमा थाहा नै नभएका ३ सय १२ जनाको नाम थपिनु गलत हो । यो लोकतान्त्रिक प्रकृया हुनै सक्दैन । यसले पार्टी कसरी चलाईंदैछ भन्ने प्रमाण दिन्छ । यस सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रबाट खटिइएका निर्वाचन अधिकृतको रोहवरमा ती क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतवाट आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद छ । सिङ्गो जिल्ला कार्यसमितिले एकै स्वरमा यथास्थितिमा जिल्लामा अधिवेशन हुनै सक्दैन भन्दा भन्दै प्रकृया कसरी अघि बढ्ला र ?

यस्तो कृयाकलापले क्रियाशील छानविन गर्ने आधिकारिक निकाय र अझ नमिलेका केही जिल्लाको क्रियाशील सदस्य छानविन गरी टुंगोमा पुर्याउन बनेको समितिको विश्वसनियतामा शंका गर्ने प्रसस्त ठाउँ दिएको छ । म उहाँहरुलाई यस सम्बन्धमा आफ्ना भनाईहरु सार्वजनिक गर्न र ती क्रियाशील सदस्यताका वारेमा पुनर्विचार गर्न आग्रह गर्दछु ।

भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन कतिपय जिल्लामा भए पनि २१ जिल्लाको क्रियाशील सदस्यताको नाम समेत सार्वजनिक गर्न नसकेको आजको स्थितिमा डडेलधुरा घटनाले हामी सबैलाई नराम्ररी झस्काएको छ । यो कतै नेपाली कांग्रेसको महाधिवेशन नगर्ने वहाना त हैन रु यसरी महाधिवेशनको प्रकृया पुरा हुन्छ भन्नेमा म विश्वस्त हुन सक्दिन । साथीहरु सबै सचेत बनौं । आफ्नो आफ्नो स्थानबाट विरोध गरौं।

जय नेपाल क्रियाशील सदस्यता वितरणमा सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा काठमाडौंमा सक्रिय भएपछि उनीहरुको जिल्ला डडेल्धुरामा विवाद बढेको छ । सभापति देउवाले काठमाडौंबाटै कैयौँ क्रियाशील सदस्यताको नामावली हटाइदिएका छन् भने केही थप गरेका छन् ।

कांग्रेस नेता कोइरालाका अनुसार ४६० जनाको नामावली हटाइएको छ । ती नामहरु जिल्लाबाट सिफारिस भएर आएका नामहरु हुन् ।

तर काठमाडौंबाट देउवाले छोरा जयवीर देउवासहित ३१२ जनाको नामावली थप गरिदिए । त्यतिमात्रै होइन हटाइएको र थपिएको नाम डडेल्धुराका जिल्ला सभापतिलाई समेत जानकारी गराइएको छैन ।

केन्द्रबाटै खटिएका निर्वाचन अधिकृतले नामावली सार्वजनिक गरेर २५ गते वडा अधिवेशन सुरु गर्ने तयारी गरेपछि विवाद झनै बढेको हो ।

जिल्ला सभापति कर्ण मल्लले दिएको जानकारीअनुसार सवा पाँच सय नामावली काटिएको छ त्यति नै संख्यामा थप गरिएको छ । जिल्लामा बहुमत कार्यसमितिले सदस्यता वितरण प्रक्रियासंगत नभएसम्मका लागि अधिवेशन प्रक्रिया नथाल्न चेतावनी दिएका छन् भने संस्थापनइतर समूहका नेताहरुलाई दबाब बढाइदिन आग्रह गरेका छन् ।

यसको विपरीत निर्वाचन अधिकृत लोकेन्द्रबहादुर मल्लले निर्वाचन कार्यतालिका प्रकाशित पनि गरिसकेका छन् । मल्ल पक्षको भनाइअनुसार देउवाकै निर्देशनमा कार्यतालिका प्रकाशित गरिएको हो ।

प्रक्रियागत रुपमा क्रियाशील सदस्यताको विवाद नसुल्झिएसम्म वडा अधिवेशन हुने सम्भावना कम छ ।

जिल्ला सभापति मल्लले जबर्जस्ती अधिवेशनको प्रक्रिया सुरु गरे त्यसबाट आउने परिस्थितिको जिम्मा लिन तयार रहन नेतृत्वलाई चेतावनी दिएका छन् ।

कांग्रेसको विधानअनुसार क्रियाशील सदस्य जहाँबाट बन्ने हो त्यहाँका कार्यसमितिको निर्णयसहित केन्द्रमा जानुपर्छ ।

सभापति मल्लका अनुसार डडेल्धुराका प्रत्येक वडाले निर्णय गरेर नै क्रियाशील सदस्यको सूची केन्द्रमा पठाएका छन् । तर, त्यसरी प्रक्रियासंगत रुपमा पठाइएका क्रियाशील सदस्यलाई केन्द्रबाट काटेर मनलाग्दी तरिकाले थप्ने काम भएको छ , त्यो पनि अनुहार हेरेर ।

आफ्नो पक्षमा रहे नरहेको हेरेर नामावली केन्द्रबाट काटिएको मल्लको आरोप छ ।

सवा पाँच सय पुराना क्रियाशील सदस्य हटाएर ‘कौवा’ चुनाव चिह्न लिएर कांग्रेसविरुद्ध चुनाव लडेकालाई कांग्रेसको क्रियाशील सदस्य बनाइएको छ ।

“केन्द्रबाट निर्वाचन अधिकृत आएपछि उनकै नेतृत्वमा निर्वाचन समिति बन्छ, प्रत्येक वडासहित सबै निर्वाचन गराउने समितिलाई एक एक कपी क्रियाशील सदस्यको नामावली दिइनुपर्छ,” मल्लले भने, “म जिल्लाको सभापति हुँ मलाई अहिलेसम्म क्रियाशील सदस्यको प्रमाणित आधिकारिक नाम दिइएको छैन ।”

उनले निर्वाचन गर्ने सामग्री नै निर्वाचन समितिले जिल्लामा नबुझाएको बताए ।

“हामीले प्रक्रियाका कुरा गर्दा उहाँहरु एकतर्फी बहिस्कार गरेर जानुभयो,” मल्लले भने, आफ्नै पार्टीका कार्यकर्ता जम्मा गरेर उहाँहरुले पार्टी कार्यालयभित्रै मुठभेड गराउनुभयो । म त्यो घटनाको घोर भ्रत्सना गर्न चाहन्छु ।” उनले त्यसतो घटना घटाएर अज्ञात स्थलबाट निर्वाचनका कार्यक्रम सार्वजनिक गर्न थालिएको बताए ।

“यस्तो अपारदर्शी निर्वाचन राजा ज्ञानेन्द्रका पालामा कमल थापा गृहमन्त्री हुँदा पनि गराएका थिएनन् । सभापति शेरबहादुर देउवा पक्षर दाबी गर्नेहरुबाट निर्वाचन अधिकृतलाई कब्जामा राखेर र निर्वाचन अधिकृतले पनि स्वीकार गरेर जुन प्रक्रिया बढाउन खोजिँदैछ, त्यसको म घोर भ्रत्र्सना गर्दछु,” सभापति मल्लले भने, “४३ वडामा सवा पाँचसय क्रियाशील सदस्य काटिएका छन् र माथिबाट सवा तीन सय क्रियाशील सदस्य थपिएका छन् ।”

उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको नाम काटेर विपक्षमा चुनाव लडेकाहरुलाई क्रियाशील सदस्य बनाइएको जानकारी दिए । उनले १६ वर्ष कांग्रेसको वडा सभापति भएका व्यक्तिलाई क्रियाशील सदस्यताबाट हटाएपछि कांग्रेसमा विवाद बढेको बताए ।