बालुवाटारवाट आएन निम्ता, एकाविहानै किन भड्किए बाबुराम भट्टराई ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ भदौं ।

जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सत्तामा जो कोही आए पनि कुर्सीको खेल जारी रहेको बताएका छन् । भट्टराईले ज्ञानेन्द्र, ओली गए पनि कुर्सीको खेल जारी रहेन तर नागरिकका समस्या जहाँको त्यही रहेको बताएका हुन्।

भट्टराईले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको कुरालाई इङ्गित गर्दै यस्तो लेखेका हुन् । भट्टराइले सामाजीक संजाल ट्विटरमा स्टाटस पोष्ट गर्दै जो जाहा फेरिएपनि सत्ता र शक्तिको खेल अझै जारी रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ ! भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ ! कमिसनखोरको खेलो जारी छ ! छिमेकीको हैकम जारी छ !जयसिंह धामीको वेपत्ता जारी छ ! छाउपडी जारी छ ! छोइछिटो जारी छ ! मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ ! श्रमिकको चुलो खाली छ ! अत: वैकल्पिक शक्तिको खोजी जारी छ !’

सरकार गठन भएको दुई महिना तिर लाग्दा पनि प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रीपरिषद्लाई पुर्णता दिन सकेका छैनन् । एमालेवाट विद्रोह गरेका माधव नेपाललाई कुरेर उनले मन्त्रीपरिषद् विस्तारमा ढिलाई गरेका हुन् । तर सरकारमा जान खुट्टा उचालिसकेको जसपालाई भने देउवाले कुनै भाउ दिएका छैनन् ।

सोमवार बिहानै बालुवाटारमा मन्त्रीपरिषद्लाई पुर्णता दिन देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ पार्टी निर्माण गरेका माधवकुमार नेपाललाई बोलाए ।

उनीहरुबीच बालुवाटारमा बैठक चल्दै गर्दा सामाजिक सञ्जालमा आफ्नै पार्टी संलग्न गठबन्धनको वर्तमान सरकारप्रति जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले भने आक्रोश पोखेका हुन ।