एमसीसी पारित गर्न ढिला गर्नुहुँदैन : डा.बाबुराम भट्टराई

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ भदौं ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन्। उनले आइतबार मध्यराति ट्वीट गर्दै नेपाल र अमेरिका सरकारबीच चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने धारणा राखेका हुन्।

भट्टराईले तत्काल तीनवटा विषयमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राखेका छन्। उनले भारतलाई असल छिमेकी बनाउनुपर्ने, चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) र अमेरिकाको एमसीसी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका छन्।

‘उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं । चीनसँगका बीआरआई, पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं ।’ पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन्, ‘अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौं।’

एमसीसीको विषयमा पक्ष र विपक्षमा बहस भइरहेका बेला भट्टराईले आफ्नो धारणा राखेका हुन्। उनले युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्ने स्पष्ट पारेका छन्। उनले देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कुटनीतिसँग छासमिस गर्दा खतरनाक प्रतिगमनको नयाँ भेरिएन्ट जन्मन सक्ने बताएका छन्। भट्टराईले देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौं तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन्।