काठमाडौं, २२ भदौं ।
झापामा एक दुखद घटना भएको छ । त्यहाँको स्थानीय बिरिङ खोला किनारमा एक महिलाको शव भेटिएको छ । उनका छोराको पनि शव सोही खोला किनारमा भेटिएको छ ।
उनी मोरङ सुनबर्षीकी ३८ बर्षीया उमा विक भएको खुलेको छ । साथमा उनका अढाई बर्षीय छोरा शिशिरको शव खोला किनारमा फेला परेको हो । उनीहरुको शव एक किलोमिटर दुरीको अन्तरमा भेटिएको झापा प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार आमाको आइतबार विहान १० बजे र छोराको शव अपरान्ह १ बजे फेला परेको हो । कनकाई नगरपालिका वडानम्बर ८ मा रहेको उमाको माइतीघरमा उनीहरु बस्दै आएका थिए ।
उमाका श्रीमानको यसअघि नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी शनिवार राति बच्चासहित आफन्तलाई थाहै नदिई घरबाट निस्किएकी थिइन् ।
उनले देह त्याग गरेको हो या घटना कसरी भयो भन्ने जानकारी आएको छैन । प्रहरीले यसबारे अनुसन्धान भै रहेको जनाएको छ भने स्थानीयहरुले अनेक अड्कल गरेपनि तथ्य बाहिर आएको भने छैन । प्रतीकात्मक तस्वीर