सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १४ पुग्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ भदौं ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने प्रदेशसभा सांसदको संख्या १४ पुगेको छ । सोमबार एमालेकी प्रदेश सांसद माया तामाङ (बोहरा)ले पनि नेकपा एकीकृत समाजवादीकोे पक्षमा सनाखत गर्नुभएको छ । उहाँ बझाङकी समानुपातिक सांसद हो । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य हुनुभएकी उहाँले पार्टी विभाजनसँगै सोमबार औपचारिक रूपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गर्नुभएको हो ।

आइतबार भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्व-राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएको थियो । यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशीला बुढाथोकीले पहिले नै समाजवादीमा सनाखत गरिसक्नु भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशसभामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ ।

५२ प्रदेश सांसद रहेको सुदूरपश्चिम प्रदेशसभामा अहिले नेकपा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेमा ११ र जनता समाजवादी पार्टीका दुई जना सांसद छन् । सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ ।