डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रबिक्रम चन्द र उपेन्द्र यादवसमेतको सहभागितामा एउटै पार्टी बनाउने : प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ भदौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रबिक्रम चन्द (विप्लव) र उपेन्द्र यादवसमेतको सहभागितामा एउटै पार्टी बनाउन पहल भैरहेको बताउनु भएको छ ।

माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई भर्चुअल सम्बोधन गर्नुहुँदै सोमबार अध्यक्ष प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रबिक्रम चन्द र उपेन्द्र यादवसँग त्यसबारे सकारात्मक छलफल भइरहेको र आफू आशावादी भएको बताउनुभयो ।

उहाँले नेपालका विभिन्न कम्युनिष्ट शक्तिबीच एकता गरी राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउनु पर्ने बेला आएको बताउनु भयो ।

आफू पदका लागि भन्दा पनि जनता र देशका लागि केही गर्नु पर्छ भनेर सक्रिय भैरहेको उहाँको भनाई थियो ।

अध्यक्ष प्रचण्डले विगतमा माओवादी केन्द्र र नेकपा एमालेबीच हुँदा आफूहरू कमजोर नभएको बताउनुभयो ।

उहाँले माओवादी पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नै उभिएको र आगामी दिन पनि पूर्ण समानुपातिक निर्वाचनको मुद्दालाई अगाडि बढाउने बताउनुभयो ।

उहाँले नेकपा गठन गर्दा वैचारिक प्रतिवेदन र सङ्गठनमा माओवादीमय प्रतिवेदन भएकोे दाबी गर्नुभयो ।

माओवादी जनयुद्धको मूल्याङ्कन, राष्ट्रिय जागरणको मूल्याङ्कन, कुन पार्टीले ल्यायो, मूल्याङ्कन आफ्नो पक्षमा रहेको अध्यक्ष प्रचण्डको दाबी छ ।

कार्यक्रममा पार्टीका पाल्पा जिल्ला इन्चार्ज तुलाराम घर्ती मगरले पार्टी बलियो बनाउने जिम्मा कार्यकर्तामा आएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला अध्यक्ष नेत्रप्रसाद पाण्डेयले माओवादीले पार्टी सङ्गठन बलियो बनाउन अभियान नै सञ्चालन गर्ने बताउनुभयो ।