एमाले त्यागेर डोल्पाका ४१ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ भदौं ।

डोल्पामा नेकपा एमाले छाडेर ४१ जना जनप्रतिनिधिहरूले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।

सोमबार सामूहिक रूपमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले हस्ताक्षर गरेका हुन् ।

ठूलीभेरी नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीसहित आठ जना वडा अध्यक्ष, चार जना जिल्ला समन्वय समितिका सदस्य, १० जना वडा सदस्य, महिला सदस्य सात जना, दलित महिला सदस्य छ जना र कार्यपालिका सदस्य पाँच गरी जम्मा ४१ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

नेकपा एमालेको नेतृत्वले धोका दिएकाले एकीकृत सामाजवादी रोज्नुपरेको ठूलीभेरी नगरपालिकाका नगर प्रमुख शाहीले बताए ।

जिल्ला निर्वाचन कार्यालयमा एकीकृत समाजवादीमा हस्ताक्षर गर्नेमा ठूलीभेरी नगरपालिकाका ३६ जना, जगदुल्ला गाउँपालिकाका तीन जना, मुड्केचुला गाउँपालिकाका एक जना र त्रिपुरासुन्दरी नगरपालिकाका एक जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।