काठमाडौंमा असोज एकदेखि विद्यालय खुल्ने तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ भदौं ।

काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् ।

सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित उपत्यकाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने, ‘विद्यालयल खुलाउने कि नखुलाउने भन्ने विषयमा सोमबार बोलाइएको बैठकमा स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरियो । बैठकले कोरोनाको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको छ ।

उनका अनुसार विद्यालय सञ्चालन गर्दा तोकिएबमोजिम अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने । विद्यालयले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको अनुगमन गर्ने पनि उनले बताए ।

कोरोना संक्रमणको दर कम हुँदै गएपछि विभिन्न स्थानमा विद्यालयहरु खुला भएका छन् ।