कर्णाली प्रदेशमा नेताहरुले एमाले छाड्ने क्रम बढ्दोः एमाले पत्तासाफ बनाउन सक्लान माधवले ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ भदौं ।

एमाले विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) मा खुल्न थालेका छन् । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म दल रोज्ने समय दिएको छ । दल रोज्ने समय दुई दिन बाँकी रहँदा कर्णालीका १० जिल्लामध्ये दैलेख, जुम्ला, सल्यानका स्थानीय तहका जनप्रतिनिधिले धमाधम दल रोज्न थालेका हुन् ।

दैलेखका २७, सल्यानका ६४, कालीकोटका ३० र जुम्लाका ३० गरी एक सय ५१ जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । जसमा नगरपालिका प्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य छन् ।

एकीकृत समाजवादीका नेता प्रकाश ज्वालको गृहजिल्ला सल्यानका ६४ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । शनिबार निर्वाचन आयोगमा पुगेर उनीहरुले सनाखत गरेका हुन् ।

सल्यानका १० स्थानीय तहमध्ये एमालेबाट चारमा प्रमुख, तीनमा उपप्रमुखसहित २७ वडाध्यक्ष, २८ दलित सदस्य, २४ महिला सदस्य र ५८ वडा सदस्यसहित कुल एक सय ४२ जनप्रनिधि निर्वाचित भएका थिए । ६४ जनाले एकीकृत समाजवादी रोजेपछि अब एमालेमा ७८ जना रहेका छन् ।

स्थानीय तहका प्रमुख एक, उपप्रमुख एक र १६ वडाअध्यक्षले सनाखत गरेको एकीकृत समाजवादी सल्यानका सचिव रमेश गौतमले जानकारी दिए । ‘सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने, कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढामगरले एकीकृत समाजवादीमा सनाखत गर्नुभएको छ,’ उनले भने, ‘सनाखत गर्ने समय अझै भएकाले केही जनप्रतिनिधि थप हुन्छन् ।’

एमाले जुम्लाका ६१ सदस्यीय जिल्ला समितिमध्ये पदाधिकारीसहित ५८ जनाले एकीकृत समाजवादी रोजेका छन् । शनिबार पत्रकार सम्मेलनमार्फत जुम्ला जिल्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दबहादुर रोकाया, सचिव आदिप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्रीसहितका जिल्ला सदस्यहरुले एकीकृत समाजवादीमा आबद्ध भएको घोषणा गरेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीको दम्भका कारण आफूहरुले माधव नेपाल नेतृत्व गरेको एकीकृत समाजवादी रोजेको प्रदेशसभाका सदस्य पदमबहादुर रोकायाले बताए ।
दैलेखमा एमालेका २७ जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सनाखत गर्नेमा गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष दुई, वडाध्यक्ष सात र बाँकी वडा सदस्य छन् । महावु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, वडा १ का अध्यक्ष डम्बर थापा, ४ का अध्यक्ष देव शाही, ५ का अध्यक्ष जगत हमाल, ६ का अध्यक्ष डम्बर थापा छन् ।

ठाँटीकाँध गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले एकीकृत समाजवादीमा सनाखत गरेकी छन् । दुल्लु नगरपालिका–९ का वडाध्यक्ष रनबहादुर बोहोरा, भगवतीमाई गाउँपालिका–२ वडाध्यक्ष कर्णबहादुर शाही र नारायण नगरपालिका–३ का वडाध्यक्ष चन्द्र उपाध्यायले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
त्यस्तै, एकीकृत समाजवादीमा सनाखत गर्ने वडा सदस्यहरूमा गोमा ढकाल, भीमसिंह दमाई, राज शाही, कविता गिरी, रश्मि विक, शेरबहादुर ठाडा मगर, खजुरा सुजी, खगिसरा तिमिल्सेना, खगेन्द्र खनाल, पानसरा थापा, शंकर बयलकोटी, रमेश केसी, मनकुमारी सुनार, रत्न श्रेष्ठ, नमराज शाही, कृष्णबहादुर रावत, र खड्गबहादुर शाही छन् । ११ स्थानीय तह रहेको दैलेखमा एमालेले सातवटा स्थानीय तह जितेको थियो । १४ जना प्रमुख÷अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षमध्ये आठजना एमालेमै रहेका छन् ।

६ जनाले एकीकृत समाजवादी रोजेका छन् । दैलेखका ९० वडामध्ये ५३ वटामा एमाले विजयी भएको थियो । ३१ जना वडाध्यक्ष एमालेमै र २२ जना एकीकृत समाजवादीमा आबद्ध भएका छन् ।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापाले अझै ५० भन्दा बढी जनप्रतिनिधि समाजवादीमा खुल्ने दाबी गरे ।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा शाही र नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल एकीकृत समाजवादीमा खुलेका छन् । तर, उनीहरुले हालसम्म एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् ।

कालीकोटका ३० जनप्रतिनिधि समाजवादीमा

कालीकोटका नौ स्थानीय तहमध्ये दुई गाउँपालिका अध्यक्ष÷दुई उपाध्यक्ष र एक नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । जसमा नरहरिनाथ गाउँपालिका अध्यक्षमा धीरबहादुर बिष्ट, महावै गाउँपालिका उपाध्यक्षमा मनराज शाही, शुभकालिका गाउँपालिकामा अध्यक्षमा खडानन्द चौलागाई उपाध्यक्षमा पम्फा शाही विजयी भएका थिए ।

त्यस्तै, खाँडाचक्र नगरपालिका प्रमुखमा जसीप्रसाद पाण्डे र उपप्रमुख विजया बिष्ट विजयी भएकी थिइन् । त्यसमध्ये नरहरिनाथ गाउँपालिका अध्यक्ष बिष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष चौलागाई, उपाध्यक्ष शाही र उपप्रमुख बिष्टले एकीकृत समाजवादीमा सनाखत गरेको पूर्वएमाले सचिव चित्रसिंह गाउँलेले बताए ।कालीकोटका ४२ वडामध्ये २७ वटामा एमालेले जितेको थियो । त्यसमध्ये १६ वडा अध्यक्षले एकीकृत समाजवादीमा सनाखत गरेको उनको भनाइ छ ।

रुकुमपश्चिमा एमालेका बहुमत सदस्य एकीकृत समाजवादीमा

रुकुमपश्चिममा ६५ जिल्ला कमिटी सदस्यमध्ये ४६ जनाले एकीकृत समाजवादी रोजेका छन् । एमाले जिल्ला अध्यक्ष बिमलकुमार पुनसहित जिल्ला कमिटीका सदस्यहरुले एकीकृत समाजवादी रोजेका हुन् । एमालेका जिल्ला कमिटी उपाध्यक्ष ऋषिप्रसाद शर्मालगायत १४ जना एमालेमै छन् । ६५ सदस्यीय जिल्ला कमिटीमा पाँचजना यसअघि नै माओवादी केन्द्र रोजेका थिए । एमाले सचिव हरिप्रसाद शर्मा, उपसचिव माधव गौतमलगायत बहुमत जिल्ला कमिटी एकीकृत समाजवादीमा रुपान्तरण भएको एकीकृत समाजवादीका अध्यक्ष पुनले जानकारी दिए ।

त्यस्तै, रुकुम पश्चिमबाट राष्ट्रिय सभाका सदस्य ठकेन्द्रप्रकाश पुरी र कर्णाली प्रदेशसभा सदस्य देवी ओलीले एकीकृत समाजवादी रोजेका छन् । प्रतिनिधिसभा सांसद तीर्था गौतम भने एमालेमै छिन् । ६ वटा स्थानीय तह रहेको रुकुमपश्चिममा एमालेले स्थानीय तहको निर्वाचनमा दुईवटा अध्यक्ष जितेको थियो । दुईमध्ये एक एकीकृत समाजवादी र एकजना एमालेमै छन् ।