गएराति परेको ठूलो वर्षाले काठमाण्डौको बल्खुमा पार्किङमा राखिएका गाडी नै बगायो, (तस्विर सहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ भदौं ।

गएरातिदेखि परेको ठूलो वर्षाका कारण उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् ।आइतबार मध्यरातदेखि काठमाडौंको मौसममा बदली भएको थियो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार राति साढे २ बजेदेखि पानी पर्न थालेको हो। रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।

भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेको छ। नदीछेउका बस्तीहरूमा डुबान भएको छ। बल्खुस्थित तरकारी बजारमा पानी पसेको छ र बागमती करिडोरको बाटोमा पानी डुबान भएको छ।

अहिले त्यहाँ सामान हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । यस्तै, काठमाडौंको टेकुमा रहेको परोपकार क्षेत्रको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । प्रहरीका अनुुसार डुबानमा फसेका एक व्यक्तिको उद्धार गरिएको छ । त्यसैगरी, रामकोट, बाफल सीतापाइला, मुलपानी लगायत क्षेत्रमा पनि डुबानले बस्ती जोखिममा परेको छ ।

सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् । सडक खोलो र पोखरीजस्तो भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ । काठमाडौंसँग जोडिएको काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ ।