एकीकृत समाजवादीमा सामेल भए मुख्यमन्त्रीको पद कायमै रहने झाँक्रीको भनाई

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ भाद्र ।

नेकपा एकिकृत समाजवादीका नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेकपा एकीकृत समाजवादीमा आए मुख्यमन्त्री पद कायमै रहने बताएकी छन् । दल रोज्ने समय २२ भदौसम्म रहेको र उक्त समयभित्र नेकपा (एस) मा आए दुवै जनाको मुख्यमन्त्री पद कायमै रहने बताएकी हुन् ।

नेतृ झाँक्रीले सरकार विस्तार गर्न अझै कुनै ढिलाइ नभएको बताए । यस्तै सरकार विस्तार प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भनि सकिएको र नेकपा (एस)ले सरकार गठनमा कुनै अप्ठ्यारो नपारेको स्प्रष्ट पारेकी छन् ।

नेकपा (एस)मा प्रवेश गर्न वामदेवका चार शर्त : संविधान संशोधनदेखि जबजसम्म

दोस्रो पटक नेकपा एमाले परित्याग गरेका वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा समाहित हुन ४ वटा शर्त तेर्स्याएका छन् ।

नेकपा (एस)का अध्यक्ष नेपालसँग चारवटा शर्त राखेका गौतमले शुक्रवार एमालेको सम्पूर्ण जिम्मेवारीवाट मुक्त भएको भन्दै राजीनामा दिएका थिए । गौतम एमालेमा उपाध्यक्षको जिम्मेवारीमा थिए ।

‘राजीनामा दिनुभन्दा पहिला वामदेवजीले चारवटा शर्त राख्नु भएको थियो,’ समाजवादीका नेता बेदुराम भुसालले सञ्चारकर्मीसँग भने, ‘उहाँले राखेका शर्तका बारेमा पार्टीमा छलफल भइरहेको छ ।’ उनका अनुसार सो शर्त पूरा भएमा मात्रै आफू नेकपा एसमा आउने गौतमको भनाइ छ ।

गौतमले संविधानमा उल्लेख भएको शासकीय स्वरुपलाई परिवर्तन गर्नुपर्ने पहिलो शर्त राखेका छन् । अहिले ‘सुधारिएको संसदीय व्यवस्था’लाई परिवर्तन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न नेकपा (एस) मञ्जुर भएमा सो पार्टीमा प्रवेश गर्ने पहिलो शर्त छ । त्यसका बारेमा नेकपा (एस)का अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् ।

यसैगरी, गौतमले हालको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने दोस्रो शर्त नेपालसमक्ष राखेका छन् । संविधानमा भएको प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचन प्रणाली दुवै परित्याग गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई नेकपा (एस)ले स्वीकार गरे आफू नेपालसँगै रहने उल्लेख गरेका छन् । गौतमको सो शर्तमा पनि पार्टीभित्र छलफल गरेर जवाफ दिने अध्यक्ष नेपालले जनाएका छन् ।