एमाले अध्यक्ष ओली अस्वस्थ, अत्यावश्यक बाहेक भेटघाट बन्द

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ भाद्र ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिए ।

ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए ।

नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय भएका थिए ।

देउवाको दुई दोष–कसरी पार लाग्ला ?

नयाँ सरकार वनेको दुई महिना पुग्न लाग्यो । यसबिचमा प्रधानमन्त्री शेरबहादुर देउवा अघिल्लो पटक सरकार प्रमुख हुँदा भन्दा केही सच्चिएको थुप्रै्र प्रमाण देखिएको छ । काम बिग्रन्छ भन्ने भयले सताइएका प्रधानमन्त्री देउवा बरु ढिला होस तर काम नविग्रोस भन्ने कुरामा सचेत भएको पाइएको छ । राजनीतिक जीवनकै उत्तरार्धमा रहेकोले यस पटक केही सुनाम होस भन्ने उनले चाहिरहेको पनि वुझन सकिन्छ ।

प्रधानमन्त्री देउवालाई यस पटक थुप्रै प्रतिकुलता छन् तर केही अनुकूलता पनि छन् । उनीबाट जनताले र पार्टीले खास ठुलो अपेक्षा गरेका छैनन् । महाधिवेशन र निर्वाचनको सँघारमा रहेको हुनाले पार्टी सभापति समेत रहेका देउवाको हर्कतले पार्टी धुलिसात नहोस् भन्ने कुरामा कांग्रेसजन सतर्क र भयभीत देखिन्छन् ।

सदाझैँ यस पटक पनि जितिसकेपछि के गर्ने भन्ने खाका काँग्रेसले बनाउन भ्याएको छैन तर कम्तीमा पार्टीले चुनाव जितोस् भन्ने चाहेको बुझिन्छ । यता आम जनताले ठुलो अपेक्षा किन पनि गरेका छैनन् भने दुई तिहाइ भएको सरकारले त केही गरेन भने यो मिलीजुली सरकारले के गर्ला र ? वा के गर्न सक्ला र ? भन्ने ठानेका छन् । कार्यभारकै हिसाबले हेर्ने हो भने पनि देउवाले दैनिक प्रशासन चलाउने र स्वच्छ चुनाव गराउने हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा यस पटक निकै फुकेर पाइला चालिरहेका छन् । सार्वजनिक मञ्चमा आफ्नै कार्यकर्तासँग रिसाए हप्काउने बाहेक उनी ठुलो विवादमा परेका छैनन् । आफ्नै श्रीमती आरजु राणा देउवाको दबाबमा परेर उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री बनाएका देउवाले गठबन्धनको बैठकमा गल्ती भो भनेर माफी मागेका छन् । तर,स्वयम मन्त्री श्रेष्ठले भने भ्याक्सिनलाई केन्द्रमा राखेर काम चाहिँ गरिरहेका छन् ।यसबाहेक देउवा आलोचित हुनुपरेको दुई कारणले छ ।