सरकारले एमसीसीलाई पत्र मार्फत सोधेको प्रश्न मा के छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ भाद्र ।

एमसीसीकी उपाध्यक्ष सहिततको टोली नेपाल आउँने फाइनल भए पछि यस विषयमा नेपालमा उठेका आशंका र प्रश्नहरुको जवाफ र प्रष्टताका लागी नेपाल सरकारले अमेरिकी दुतावास मार्फत एमसीसीको प्रधानकार्यालयलाई पत्र लेखेको छ ।

नेपाल सरकारले एमसीसीको प्रधानकार्यालयलाई लेखेको पत्रमा हाल जे जे विषयलाई लिएर नेपालमा चर्को विरोध भइरहेको छ ति विषयहरुको प्रष्टताको लागी अनुरोध गरिएको छ । एमसीसी उपाध्यक्ष नेपाल आउँने बेलैमा नेपाल सरकारले सोधेको प्रश्नलाई निकै नै अर्थपुर्ण रुपमा हेरिएको छ ।

नेपाल सरकारले एमसीसीलाई सोधेको प्रश्नहरुमा अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत एमसीसी परियोजना पर्छ कि पर्दैन, एमसीसीअन्तर्गत नेपाल अमेरिकी सुरक्षाको घेरामा पर्छ कि पर्दैन, परियोजनाको लेखापरीक्षण नेपाल कि अमेरिकाबाट हुने हो, सम्झौता नेपालको संविधानभन्दा माथि छन् कि छैनन्, यो पूर्वाधार र ऊर्जा विकासका लागि मात्र हो कि होइन, अन्य सहयोग र यो सहयोगमा के फरक छ, यो सम्झौताले नेपालको राष्ट्रिय हित र सार्वभौमिक सत्तालाई असर पार्छ कि पार्दैन लगायत विषय पत्रमा समेटिएको छ,

एमसीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स अर्को साता नेपाल आउने भएका छन् । यही बेला नेपाल सरकारले एमसीसी मुख्यालयलाई पत्राचार गरेको हो । पत्रमा उल्लेख गरिएका विषयलाई स्पष्ट पारेर त्यसको सन्देश नेपालमा प्रवाह गर्ने गरी उपाध्यक्ष सुमारले नेपाल भ्रमण गर्नेछिन् ।

मन्त्रीपरिषद समेत विस्तार नगरेर प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीमा केन्द्रित भए पछि सत्तागठबन्धनमा गम्भिर खटपट सुरु भएको बताइन्छ । कुनै पनि हालतमा तत्काल एमसीसी पास गर्ने अनि मात्रै मन्त्रीपरिषद विस्तार गर्ने भनेर देउवाले रोकिराखेको बताइन्छ ।