काठमाडौँमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ भाद्र ।

दार्चुलामा भएको घटनाको विरोधमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ । माधव नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादी (एस)का निकट संगठन अनेरास्ववियुले मोदीको पुत्ला दहन गरेको हो ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडि भेला भएका उनीहरूले मोदीको पुत्ला दहनसँगै भारतविरुद्ध नारा लगाएका थिए । दार्चुलाका जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा नदीमा खसेर बेपत्ता भएका थिए ।

सोही घटनाको विषयलाई लिएर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन भएको हो ।

तुइन प्रकरणमा मारिएका जयसिंह धामीलाई न्यायको माग गर्दै उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका हुन् ।

विद्यार्थीहरुले मोदीको पुत्ला बनाएर आगो लगाउन थालेपछि प्रहरीले बल प्रयोग गरी पुत्ला खोस्ने प्रयास गरेको थियो ।

जयसिंह धामी प्रकरण भारतीय ज्यादती भएको भन्दै उनीहरुले भारतविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।

विद्यार्थीहरुले जयसिंह धामीलाई न्याय दे, भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए भने टाउकोमा कालो कफलसमेत बाँधेका थिए ।