२५ वर्षपछि बामदेव गौतमले पुनः छाडे एमाले

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ भाद्र ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएकाे स्वकीय सचिव दीपक टमाटाले दृष्टि न्युजलाई जानकारी दिए ।

गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए ।

२०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् ।

ओली र देउवाबिच गोप्य सहमति, माधव-प्रचण्ड र उपेन्द्रको दिनगन्ती सुरु

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी दल नेता केपी शर्मा ओलीबीच गोप्य सहमति भएको छ । देउवा र ओलीबीच चाँडो भन्दा चाँडो निर्वाचनमा जाने सहमति भएको हो ।

देउवाले आफ्ना दूत कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की परिचालन गरेर प्रतिपक्षी एमालेसँग सम्वाद थालेका थिए । कार्कीले ओली र उपनेता सुवास नेम्वाङसँग भेट गरी चुनावका लागि सहमति गरेको बालुवाटारस्थित उच्च स्रोतले जानकारी दिएको छ ।

देउवाले माधव नेपाल, प्रचण्ड र उपेन्द्र यादवबाट गठबन्धन उभो नलाग्ने भन्दै चुनावमा जानेबारे एमालेको धारणा मागेका थिए । ओलीले ग्रिन सिग्नल दिएपछि अब देउवा चुनाव घोषणा गर्ने तयारीमा रहेको स्रोतको दाबी छ ।

त्यसो त गठबन्धनका नेताहरुको किचलोका कारण देउवाले अझै पनि मन्त्रिमण्डल विस्तार गर्न पाएका छैनन् । मन्त्रिमण्डल गठनमै महाभारत हुँदा भोलि गठबन्धनमा थप समस्या आउने र त्यसको दोष देउवा र कांग्रेसलाई मुख्यरुपमा पर्ने र यसको असर निर्वाचनमा पर्ने देउवाको आंकलन छ ।