अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा ३ नेपालीको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ भाद्र ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यमा आएको ‘आइडा’ नामक बाढी र आँधीबेहरीका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र उनीहरुका १९ महिने छोरा लोप्साङ लामा रहेका छन् ।

युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले दिएको जानकारी अनुसार उनीहरुको बाढीमा परी मृत्यु भएको हो।

“सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीका, हाल न्युयोर्कमा बसोबास गर्दै आउनु भएको आङ गेलु लामा उहाँका श्रीमती मिङमार शेर्पा र उहाँहरुको १९ महिनाको छोरा लोप्साङ लामा सपरिवारको न्युयोर्कमा भएको बाढी र बर्षातले सपरिवारको असामयिक निधन भएको खबरले मर्माहत बनाएको छ।”, एसोसियसनद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा ,बाढी र घुम्रपात (टोरनाड़ो ) को कारण ४१ जनाको मृत्यु भइसकेको छ ।

समुद्री आँधी आइडाको प्रभावका कारण न्यूयोर्क र न्यूजर्सी राज्यमा भारी वर्षा भएको छ । यो अस्वाभाविक भएको मौसमविदहरुले बताएका छन् ।

न्यूजर्सीमा २३ जना, न्यूयोर्कमा १४ जना, पेन्सलभेनियामा ३ जना र कनेटिकटमा एकजनाको मृत्यु भएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।