कानूनमन्त्री पुगे ओलीलाई भेट्न बालकोट, एमसीसीका विषयमा भयो कुराकानी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ भाद्र ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग भेट गर्न आफ्नो दूत पठाएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि देउवाल पहिलो पटक कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीसँग कुरा गर्न पठाएका हुन् । भेटमा कार्कीले बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीका विषयमा कुराकानी गरेको बुझिएको छ ।

दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो नै पहिलो पटक हो। कार्कीले मंगलबार साँझ ७ बजे ओलीलाई उनकै भक्तपुरस्थित बालकोट निवासमा पुगेर भेटेका हुन्। त्यसअघि कार्कीले दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटवार्ता गरेका थिए।

अमेरिकी सहयोग एमसिसी लामो समयसम्म प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन। त्यस्तै ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयकमार्फत् सरकारले पास नगरे खारेज हुने अवस्थामा पुगेको छ। सरकारले अहिले नयाँ बजेटको तयारी गरिरहेको छ। नेपालन्युज बाट