काठमाडौं, १५ भाद्र ।
नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको पार्टीले जनताको बहुदलीय जनवाद (जबज) नसमेटेपछि साथ दिन नसकेको बताएका छन्।
माधवको पार्टी नेकपा (एस) मा गौतमले सहअध्यक्ष नपाएपछि साथ नदिएको चर्चा भइरहेका बेला उनको सचिवालयले यसबारे प्रष्ट पार्दै जबज नराखेकै कारण गौतमले नेपाललाई साथ दिन नसकेको बताएको छ।
उनको सचिवालयले भन्यो, ‘सहअध्यक्ष मागेको होइन। जबज राख्न नेपाल सहमत नभएपछि मैले साथ दिन नसकेको हो ।’
गौतमकी श्रीमती सांसद तुलसा थापा भने नेपाल पक्षमा लागेकी छिन्। थापा नेकपा एसले निर्वाचन आयोगबाट मान्यता पाउने दिन सनाखतका लागि निवेदन लिएर गए पनि कार्यालय समय सकिएको भन्दै दर्ता भएको थिएन ।उनी कानूनी रुपमा एमालेकै सांसद छिन् ।
गौतम निकटका बाँकी रहेका केही केन्द्रीय सदस्यहरु भने माधव नेपालको पार्टीमा समावेश भइसकेका छन् । गौतम एमालेभित्र जबजका पक्षधर मानिन्छन् ।
बामदेव गौतमको घोषणा- उपाध्यक्षबाट राजीनामा पठाइदिन्छु, बैठकमा जान्नँ,ओलीलाई नेता मान्दिन
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले भने, ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एक दुई दिनभित्रै हुन्छ ।
गौतम आज बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने भएका छन् ।
एमालेबाट राजीनामा दिने घोषणा गरे पनि माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेका छैनन् । अब आफ्नै ढङ्गले अघि बढ्ने गौतमले रातोपाटीलाई बताए ।
एमाले उपाध्यक्ष गौतमले एमाले विभाजन नहुँदै फरक सङ्गठनात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् । ‘म अब आफ्नै ढङ्गले अघि बढ्छु’, गौतमको भनाइ छ ।
तपाईंले राजीनामा दिनुअघि आजै तपाईंमाथि कारवाही भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा गौतमले ‘कारवाही गरे झन् राम्रो हुने’ प्रतिक्रिया दिए । उनले भने, ‘कारवाही गरे त झन् राम्रो नि । गरुन् न !’
माधब नेपालसंग ‘बार्गेनिङ्ग’मा बामदेव गौतम !
नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बामदेव गौतम अझै एमालेमै छन् । उनले सार्वजनिक रुपमै माधव नेपालको पक्षमा जाने बताइसकेका छन् । तर, औपचारिक रुपमा पार्टी परित्याग गरेका छैनन् ।
शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा विगतमा बोलेका माधव नेपालले एकता अभियानका आफू पक्षधरसँगको छलफलमा पनि एमाले छाड्ने बताएका थिए । उनले केपी शर्मा ओलीलाई पराजित गरेर छाड्ने भन्दै त्यसपछि मात्र कम्युनिस्ट एकताको ढोका खुल्ने धारणा राखेका थिए । तर, अहिले आएर बामदेव पार्टी छाड्ने ढिलो गर्न थालेका छन् ।
बामदेवले माधव नेपालसँग शक्ति बाँडफाँडको कुरा गरिरहेका छन् । जसमध्ये नेकपा एसमा पद र भूमिका, आफूनिकटस्थले पाउने मन्त्रीको संख्याको विषय छ । गौतम स्वयं उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिन चाहन्छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा उपप्रधानमन्त्री बनाउन चाहिरहेका छैनन् । यसकारण गौतम रोकिने सम्भावना बढेको छ ।
गौतम आफू सरकारमा नगए आफू पक्षधर कम्तिमा २ जनालाई महत्वपूर्ण मन्त्रालय दिने गरी सहमति गर्न खोजिरहेका छन् । यसमा माधव नेपालसँग उनको छलफल चलिरहेको बुझिएको छ । यसलाई कतिपयले बामदेवको माधव नेपालसँगको बार्गेनिङ्गका रुपमा लिन थालेका छन् ।
माधव नेपालको साथमा एमालेबाट नवौं महाधिवेशनमा निर्वाचित कुनैपनि पदाधिकारी छैनन् । यसले पनि उनलाई चुनौती बढेको छ । नेपाल बामदेवलाई पार्टीमा ल्याएर भएपनि प्रतिष्ठा जोगाएर ऊर्जा बढेको सन्देश दिन चाहिरहेका छन् । यसकारण पनि उनको बामदेवसँग सम्झौता हुने सम्भावना छ ।
बामदेब गौतमलाई उपप्रधानसहित गृह-मन्त्रालय !
सार्वजनिक रुपमै माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा जाने बताएका बामदेब गौतमले औपचारिक रुपमा नेकपा एमाले पार्टी परित्याग गरेका छैनन् । त्यसको मतलब बामदेव गौतम अझै बार्गेनिङ गरिरहेका छन । एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधब नेपालसंग ।
आज मात्र माधब नेपाल चौथो ठुलो संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । र मन्त्री छान्ने जिम्मा पनि माधब नेपाललाई नै दिइएको छ ।
नेकपा एमालेको उपाध्यक्षबाट राजिनामा दिन्छु माधब नेपाल नेतृत्व समाजवादी पार्टीमा लाग्छु भनेका बामदेव गौतम बिच बाटोमै छन । अब जता ठुलो लाभ मिल्छ उनी त्यत्तै लाग्ने मनस्थितिमा छन ।
बामदेव गौतमलाई आफ्नो पार्टीमा ल्याउन माधब नेपाललाई मन्त्रीमण्डल बिस्तार नै सबै भन्दा ठुलो र अन्तिम अवसर हुनेछ । त्यसैले माधब नेपालले बामदेव गौतमलाई उपप्रधानमन्त्री सहित गृहमन्त्री बनाउने तयारी थालेका छन ।
साथै रामकुमारी झाँक्री लगायतका माधव समुहका चर्चामा रहेका धेरै नेताहरु मन्त्री अवश्य बन्छन् । नेपाल समूह सरकारमा सहभागी भएमा शिक्षामन्त्री मन्त्री रामकुमारी झाँक्री नै हुने चर्चा पनि चलेको छ ।
यसअघि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रलाई दुई मन्त्रालय दिइसकेका छन् । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री भइसकेका छन् । यस्तै नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन तथा न्याय मन्त्री बनिसकेका छन् । केहि दिनमा सबै मन्त्रालयको टुंगो लाग्ने गरि गठबन्धनले तयारी थालेको छ ।