भदौ १५ देखि उपत्यकाका विद्यालय खुल्ने, नियम पालना नगर्नेलाई यस्तो कारबाही !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १५ भदौ ।

भदौ १५ गतेदेखि उपत्यकाका केही विद्यालय खुल्ने भएका छन् । आवश्यक भौतिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी पूर्ण शतर्कताका साथ भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय गोकर्णेश्वर नगरपालिकाले गरेको हो ।

यसअघि नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, अभिभावक, राजनीतिक दलका पदाधिकारी, वडाध्यक्ष, पेशागत संस्थाका प्रमुखहरुबीचको अन्तरक्रियापछि भौतिक उपस्थितिमै विद्यालय संचालन गर्न सकिने सिफारिश गरिएको थियो ।

सोही सिफारिश अनुसार नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले एक नगरपालिकाभित्रका सबै विद्यालयहरु आवश्यक सुरक्षा प्रबन्धको कडाईका साथ पालना गरी भौतिक उपस्थितिमै संचालन गर्ने निर्णय गरेको हो ।

शिक्षा, यवा तथा खेलकूद शाखाका उपसचिव विजयप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भदौ १५ गते मंगलबारदेखि सबै विद्यालय संचालन गर्ने निर्णय भएकाले सोही अनुसार नै विद्यालय संचालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउन सबैलाई अनुरोध गरिएको छ ।

त्यस्तै विद्यालय स्वयंले स्वास्थ्य सुरक्षाको भरपर्दो र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्न र सो अनुसारको वातावरण नभएको पाइएमा नियमानुसार कारबाही हुनेतर्फ सचेत समेत गराइएको छ ।

स्वीकृत भएन पाठ्यक्रम, छापिएनन् पुस्तक – करिब डेढ महिनादेखि शिक्षा मन्त्रालय मन्त्रीविहीन हुँदा कक्षा ११ को प्राविधिकतर्फको पाठ्यक्रम स्वीकृत हुन सकेको छैन । पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षा सामग्री केन्द्रको ढिलाइका कारण कक्षा १२ का विद्यार्थीले अनिवार्य विषयको पाठ्यपुस्तक पनि पाउन सकेका छैनन् ।

कक्षा ११ (प्राविधिक धार) र कक्षा १२ (साधारण धार) को नयाँ पाठ्यक्रम यस वर्षदेखि लागू हुने तयारीमा छ । तर शिक्षामन्त्रीले अध्यक्षता गर्ने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट पाठ्यक्रम स्वीकृत हुन सकेको छैन । शिक्षामन्त्री नहुँदा परिषद्को बैठक डाकेर पाठ्यक्रम स्वीकृत गर्न नसकेको केन्द्रका सूचना अधिकृत गणेश भट्टराईले जानकारी दिए ।

परिषद्बाट पाठ्यक्रम प्रारूप स्वीकृत भएपछि मात्र पाठ्यपुस्तक तयार पार्ने र पठनपाठन हुने गर्छ । प्राविधिक धारको पाठ्यपुस्तक आवश्यक नपर्ने हुँदा केही ढिलाइ गरेर भए पनि नयाँ पाठ्यक्रम नै लागू गर्न लागिएको केन्द्रले जनाएको छ । ‘प्राविधिक धारको पाठ्यक्रममा ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत मात्रै सैद्धान्तिक विषयवस्तु हुन्छ,’ भट्टराईले भने, ‘त्यसैकारण पाठ्यपुस्तक छपाइ हुँदैन, केही ढिला भए पनि नयाँ पाठ्यक्रम लागू गर्दा खासै फरक पर्दैन ।’

प्राविधिकतर्फ यसपटक कक्षा ११ मा र आगामी शैक्षिक सत्रमा कक्षा १२ मा नयाँ पाठ्यक्रम लागू हुने केन्द्रले जनाएको छ । साधारण धारतर्फ कक्षा ११ मा गत वर्षदेखि नै नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन सुरु भइसकेको छ । कक्षा १० को नतिजा प्रकाशन भएर विद्यार्थी भर्ना हुन थाले पनि पाठ्यक्रम नहुँदा विद्यार्थी र शिक्षक दुवै अन्योलमा छन् ।