आज मन्त्रालय बाँडफाँड, भोलि मन्त्रिपरिषद् विस्तार, को–को बन्दैछन् मन्त्री ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १५ भदौ ।

सरकार विस्तारको गाँठो फुकाउन राजनीति दलका नेताहरू छलफलमा जुट्न थालेका छन् । सरकार बनेको डेढ महिना बित्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारका कामहरू अलपत्र पर्न थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले चार मन्त्री र एक राज्य मन्त्रीको भरमा सरकार चलाइरहेका छन् ।

एमालेबाट विद्रोह गरेको माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउने उद्देश्यले सत्तारूढ गठबन्धनले सरकार विस्तारमा ढिलाइ गरेको थियो । माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेपछि पाँचदलीय गठबन्धनले आगामी बुधवारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय सत्ता गठबन्धनको बैठकमा बुधबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको थियो । बालुवाटारको बैठकपछि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक राखेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ १६ गतेसम्ममा सरकार विस्तार गर्ने तयारी भएको ब्रिफिङ गरेको माओवादी स्थायी कमिटीका एक नेताले बताए ।

प्रधानमन्त्री निवासमा बसेको सत्तारूढ गठबन्धनको बैठकले शीर्ष नेताहरू बसेर मन्त्रालयको भागबण्डा टुंगो लगाउने सहमति जुटाएको छ ।
सोही अनुसार भदौ १५ गते सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बसेर मन्त्रालयको बाँडफाँड गर्ने तयारी गरेका छन् ।

गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सरकारमा सहभागी हुनेछन् भने राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने बताइसकेको छ । गठबन्धनमा रहेका नेताहरू कुन दलले कतिवटा मन्त्रालय पाउने टुंगो लगाइसकेका भए पनि कुन दललाई कुन–कुन मन्त्रालय दिने भनेर मन्त्रालय बाँडफाँड गरेका छैनन् ।

कांग्रेसका तीन गुट समेट्ने चुनौती

महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसले सरकारमा तीन गुटलाई समेट्नुपर्ने चुनौती छ । आफ्नै नेतृत्वको संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाको गुटलाई समेटेर मन्त्री बनाउनुपर्ने चुनौतीमा देउवा छन् ।

देउवाले उनको नजिक मानिएका बालकृष्ण खाँणलाई गृहमन्त्री र ज्ञानेन्द्र कार्कीलाई कानून मन्त्री बनाइसकेका छन् । त्यसबाहेक व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएर देउवाले आलोचना खेपिसकेका छन् ।

कांग्रेसले परराष्ट्र मन्त्रालय पाएको खण्डमा नेता डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउने सम्भावना छ । पौडेल पक्षबाट पार्टी महामन्त्री शशांक कोइराला, सुजता कोइराला र प्रकाशमान सिंहमध्ये एकलाई उपप्रधानमन्त्री बनाउनुपर्ने दबाब देउवामाथि छ ।

त्यसबोहक पौडेल पक्षबाट सुदूरपश्चिमका नेता दिलेन्द्रप्रसाद बडूको नाम मन्त्रीको चर्चामा छ । कृष्ण सिटौलाले उमाकान्त चौधरीलाई मन्त्री बनाउनुपर्ने सिफारिश गरेका छन् ।

माओवादी केन्द्रलाई मन्त्री छान्नै सकस

सत्ता गठबन्धनको मुख्य सहयात्री माओवादी केन्द्रले पनि मन्त्री छान्ने जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ । प्रचण्डले साउन ९ मा सबै सांसद मन्त्री बन्ने दौडमा रहेकाले आफू तनावमा रहेको बताएका थिए ।

माओवादीका शीर्ष नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, कृष्णबहादुर महरा लगायतले मन्त्रीमा दोहोरिने इच्छा गरेका छन् । यसका अलावा देवेन्द्र पौडेल, हरिबोल गजुरेल, हितबहादुर तामाङ, सुदन राईलगायत पनि मन्त्रीका आकांक्षी छन् ।

माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्माले अर्थ मन्त्रालय र पम्फा भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । अब माओवादी केन्द्रले चारवटा मन्त्रालय पाउने सम्भावना छ ।

नेकपा (एकीकृत समाजवादी) ले मापदण्ड बनाउने

नवगठित दल नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष माधव नेपाललाई दिएको छ । उनी भदौ १३ मा प्रतिनिधि सभामा उक्त दलको नेता चयन भएका थिए । यद्यपि एकीकृत समाजवादीले सरकारमा पठाउने मन्त्री छान्नका लागि मापदण्ड बनाउने तयारी गरेको छ ।

मन्त्री छान्नका लागि भुगोलसहितको समावेशिता, इतिहास र वर्तमानलाई समेत जोड्ने गरी मापदण्ड बनाउने उक्त पार्टीका एक नेताले बताए ।
एमालेबाट छुट्टिएर बनेको उक्त दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्री छान्नका लागि मापदण्ड बनाउन लागेको हो ।

एकीकृत समाजवादीबाट नेताहरू विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, शेरबहादुर कुँवर, किसान श्रेष्ठ, पार्वती विसङ्खे, जीवनराम श्रेष्ठ, निरादेवी जैरू, कल्याणी खड्कालगातयले मन्त्रीमा दाबी गरिरहेका छन् ।

निरादेवी जैरू र कल्याणी खड्का संसदीय समितिको सभापति पनि भएकाले उनीहरू मन्त्री बन्ने सम्भावना कम रहेको एकीकृत समाजवादीका एक नेताले बताए ।

‘अहिले संगठन बनाउने र जोगाउने बेला हो । पद प्राप्तिका लागि नयाँ दल बनाएको होइन । यो आरोपको खण्डन पनि गर्नुपर्ने छ । त्यसका लागि पनि पदमा धेरै दाबी राख्नुहँदैन’, एकीकृत समाजवादी पार्टीका एक नेताले भने । प्रेम आले र शेरबहादुर कुँवर दुवै सुदूरपश्चिमका नेता हुन् । उनीहरू दुईमध्ये कुनै एक नेतालाई मन्त्री बनाउने सम्भावना छ ।