‘केपी ओलीलाई सत्ताबाट हटाउने जिम्मा मैले नै लिएको थिए’: माधब नेपाल

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १४ भदौ ।

नवगठित नेकपा ९ एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेको नवौँ महाधिवेशनबाट अध्यक्ष बनेपछि स्वेच्छाचारी बनेको आरोप लगाएका छन्।

आफैंलाई पराजित गरेर अध्यक्ष बनेपछि ओलीले पार्टीमा मनपरी गरेको बताउँदै नेपालले सरकारको नेतृत्वमा आएपछि पनि त्यही व्यवहार देखाएपछि हटाउने अभियान चलाइएको उनले बताए।

सरकारमा ओलीको मनपरी चलेपछि मैले नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग, उपेन्द्र यादवसँग, बाबुराम भट्टराईसँग र कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरेको थिएँ, उनले भने, उहाँहरूसँगको छलफलपछि ओली हटाउने जिम्मेवारी मलाई नै आएको थियो। त्यसको नेतृत्व पनि मैले नै गरेको थिएँ।

उनले ओलीसँग कुनै किसिमको सहकार्य हुन नसक्ने बताउँदै एमालेबाट विद्रोह गरेर आउन पनि नेता कार्यकर्तालाई आग्रह गरे।

ओलीको दक्षिणपन्थी गतिविधिकै कारण हामी नयाँ पार्टी खोल्न बाध्य भएका हौँ, उनले भने, हामी त्यस्ता दक्षिणपन्थीसँग कुनै सहकार्य गर्ने छैनौँ। हामी विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्न सक्छौँ।

उनले एकीकृत समाजवादीका कोही सत्रु नहुने पनि बताए। हाम्रा कोही सत्रु हुने छैनन्, सबै मित्र हुनेछन्, उनले भने, हाम्रो आन्तरिक मामिलामा कसैले हस्तक्षेप नगरुन्। हाम्रो संवेदनशीलतालाई सबैले बुझिदिउन् भन्ने अपेक्षा छ।

नेता नेपालले अब माओवादीसहितका शक्तिसँग सहकार्य हुने पनि बताए। माओवादी केन्द्र लगायत कम्युनिस्ट दलहरूसँग सहकार्य हुनेछु, उनले भने, बाबुरामजीहरुदेखि अन्य शक्तिसँग पनि हामी सहकार्य गर्दै अघि बढ्नेछौँ।