काभ्रेमा ढुंगा-माटोसहितको पहिरो खस्दा मोटरसाइकल चालकको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १४ भदौ ।

काभ्रेमा मोटरसाइकलमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।

आइतबार रोशी गाउँपालिका वडा नम्बर ७ कटुन्जेस्थित बिपी राजमार्गमा पहिरो गई ढुंगा माटो खस्दा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

काठमाडौंबाट जनकपुर जाँदै गरेको ज.८.प ७४९० नम्बरको मोटरसाइकलमा लाग्दा चालक र र पछाडि सवार व्यक्ति गम्भीर घाइते भएका थिए। प्रहरीको टोलीले उनीहरूलाई धुलिखेल अस्पताल पुर्‍याएको थियो।

घाइतेमध्ये उपचारको क्रममा चालक मोहत्तरी रामगोपालपुरका २८ वर्षीय सरोजकुमार साहको मृत्यु भएको कार्यालयले जनाएको छ।

पछाडि सवार धनुषा रामानन्धचोकका ३० वर्षीय सतिसकुमार साह घाइते छन्। उनको धुलिखेल उपचार भइरहेको छ।